रामेछाप, २ असार । रामेछपको लिखु गाउँपालिका–६ खिम्तीमा शनिबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएका ३ जनाको अभैm पत्ता लागेको छैन ।
साविक खिम्तीर फर्पू गाविसको सिमाना भएर बग्ने छतिवने खोलामाथिको मोटरेवल पुल बगाउँदा ५ जना बेपत्ता भएका थिए । बेपत्ता भएकामामध्ये २ जनाको शव आइतबार फेला परेको भए पनि अन्य ३ को अझै पत्तो लाग्न सकेको छैन ।
मृत्यु हुने मध्ये लिखु–६ की लाल कुमारी खत्रीको शव घरमै र वाशु भनिने जय प्रकाश कार्कीको शव खिम्तीभन्दा करिव ७ किलो मिटर दक्षिण तामाकोसी नदीको किनारमा आइतबार फेला परेको थियो । घटनामा परी बेपत्ता भएका अशोक तामाङ, उनकी छोरी मनिता तामाङ र घरसहित खिम्ती खोलाले बगाएको सुमन कुमारी खत्रीको अझै पत्तो लागेको छैन । उनीहरुको खोजि कार्य जारी छ । उनीहरुको जिवितै उद्दार हुने आशा कम हुँदै गएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । घटनामा परी ७ जना घाइते भएका छन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुको काठमाडौंको वीरअस्पतालस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । यसैबीच जिल्ला दैवी प्रकोप उद्धार समितिले खिम्तीका बाढी पीडित ४ घर परिवारलाई सोमबार बिहान राहात सामग्री वितरण गरेको छ ।
जिल्ला दैविक प्रकोप उद्धार समिति रामेछापका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार ४ घर परिवारलाई अन्न, ओढ्ने ओछ्याउने, त्रिपाल, भाडाँकुँडा तथा नुन तेल लगायतका सामग्रीहरु वितरण गरिएको छ ।
पीडितलाई स्थानीयस्तरमा पनि केही राहत सामग्री वितरण गरिएको लिखु गाउ“पालिकी उपप्रमुख दीपशिखा दाहालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्