काठमाडौ साउन ३१ । सत्तारूढ गठबन्धनले कोशी प्रदेशका ज्येष्ठ सांसद गयानन्द मण्डललाई राज्यमन्त्री बनाउने भएको छ ।मुख्यमन्त्री उद्धव थापाले कांग्रेस सांसद मण्डललाई कृषि राज्यमन्त्री बनाउने भएका हुन् । उनको शपथ आजै तय भएको छ ।गठबन्धनको निर्णय अनुसार मण्डलले राज्यमन्त्री पाउने माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।कोशी प्रदेशसभा सभामुखविहीन छ । उपसभामुख एमालेकी सृजना दनुवार छिन् ।
साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । भदौ १ गतेबाट उनले प्रदेशसभा बैठक बोलाएका छन् ।उपसभामुखले राजीनामा दिए ज्येष्ठ सदस्य भएका कारण मण्डलले प्रदेश सभा बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । मण्डलले विश्वासको मत लिने बैठकको अध्यक्षता गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउँदैनन् ।उपसभामुखले राजीनामा दिए प्रदेश सभा बैठकको अध्यक्षता एमालेकै ज्येष्ठ सदस्यलाई गराउने रणनीतिसहित मण्डललाई गठबन्धनकाले मन्त्री बनाउन लागेको हो ।९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । गठबन्धनसँग कठिन बहुमत ४७ नै सांसद छन् । विपक्षमा एमालेका ३९ उपसभामुख बाहेक र राप्रपाका ६ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्