चितवन, २३ माघ । जिल्ला प्रहरी कार्यालय चितवनले गुण्डा नियन्त्रण अभियानलाई तीव्रता दिएको दिए सगै उनिहरुको वर्गिकरण समेत गरिएको छ ।
गुण्डा नियन्त्रण अभियान अन्तर्गत गुण्डाको वर्गीकरणसँगै सबैको प्रोफाइल तयार बनाएर निगरानी समेत बढाइएको छ । समाजमा गैरकानुनी काम गर्दै आएका व्यक्तिहरुको निगरानी अनुसार ५ प्रकारका गुण्डा वर्गीकरण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले बताउनुभयो । जिल्लाको शान्ति सुरक्षा र अमनचयनका लागि अभियान सुरु गर्नु परेको बताउँदै उहाँले माघ १५ गतेबाट चलाइएको अभियान अन्तर्गत हालसम्म ३७ जनालाई नियन्त्रणमा लिएर कारबाही प्रकृया अगाडि बढाइसकिएको जानकारी दिनुभयो ।
टोल टोलमा गैर कानुनी काम गर्ने, स्थानीयलाई डर देखाई आतंकित पार्ने समूह वा व्यक्तिलाई टोले गुण्डाको रुपमा राखिएको छ । टोल भन्दा माथिल्लो तह गाँउ समाजको शान्ति सुरक्षामा खलल पुर्याउनेलाई फ्याउरे गुण्डाको रुपमा राखिएको प्रहरीले जनाएको छ ।
कुनै पनि व्यक्ति, समूह र संस्थाको नाम बेचेर गैरकानुनी कृयाकलाप गर्नेलाई संरक्षित गुण्डाको रुपमा राखिएको र कुनै पनि व्यवसायीलाई काममा असर गर्ने गरी पैसा असुली गर्ने उद्देश्य राखेर कानुन विपरीत काम गर्नेलाई व्यवसायिक गुण्डाको रुपमा वर्गीकरण गरिएको प्रहरीले जानकारी दिएको छ ।
कुनै राजनैतिक दल वा नेताको नाममा गैरकानुनी काम गर्नेलाई राजनैतिक गुण्डाको रुपमा राखिएको प्रहरी प्रमुख थापाले बताउनुभयो । ‘जहाँ शक्ति र पैसा छ त्यहाँ गुण्डाको चहलपहल धेरै देखिएको छ’, प्रमुख थापाले भन्नुभयो, ‘व्यवसायिक र राजनैतिक गुण्डालाई बढी निगरानीमा राखेका छौँ ।’
यसैबीच प्रहरीले चलाएको ‘आकस्मिक चेकजाँच अभियान’ अन्तर्गत पाँच दिनमा चितवनमा दुई सय ७९ जना पक्राउ परेका छन् । यही माघ १५ गतेदेखि २० गतेसम्म चलाइएको यस अभियान अन्तर्गत नियम उल्लंघन गर्ने चार सय ८४ वटा गाडीलाई समेत कारवाही गरिएको प्रहरीले जनाएको छ ।
‘सुरक्षित चितवनको आधार, शान्ति सुरक्षा र मानव अधिकार’ अवधारणा अन्तर्गत सुरु भएको यस अभियानमा जिल्लाका १३ स्थानमा ‘आकस्मिक चेकजाँच अभियान’ चलाएको थियो ।
प्रतिक्रिया दिनुहोस्