काठमाडौं, २५ माघ । मोहन वैद्य (किरण) र नेत्रविक्रम चन्द (विप्लव) ले पार्टी एकतालाई छिटै टुङ्गोमा पुर्याउने निर्णय लिएका छन्।
बिहीबार बसेको दुई दलको शीर्ष नेता सम्मिलित उच्चस्तरीय बैठकले विज्ञप्ति जारी गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टीबीचको एकता आवश्यक रहेको ठहर गर्दै एकता प्रक्रियालाई छिटै टुंगोमा पुर्याउने निर्णय गरेको हो।
दुवै महासचिवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्न क्रान्तिकारी कम्युनिस्टहरुबीचको एकता अनिवार्य आवश्यकता बन्न पुगेको छ भन्ने अघिल्लो बैठकको निष्कर्ष सही सावित भएको छ। यो प्रक्रियालाई अगाडि बढाउन छिटै आवश्यक पहल गर्ने निर्णय गरिएको छ।’
दुई वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकताको विषयमा निर्णायक छलफल चलाइरहेका बेला वैध नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समेत एकता प्रक्रिया अघि बढाएका हुन्।
प्रतिक्रिया दिनुहोस्