कपिलवस्तु, २६ माघ । यहाँ ८७८ जनामा हात्तीपाइलेको लक्षण देखा परेको छ ।
आव २०७३\०७४ को तथ्यांकका आधारमा जिल्लामा खुट्टा सुन्निएका २२८, हाइड्रोशील ६०२ र शरीरका अन्य भागमा ४८ गरी ८७८ संक्रमित भेटिएका हुन् ।
सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशतभन्दा कममा झार्ने सरकारी योजनाअनुसार यस जिल्लामा विसं २०६४ देखि २०६६ सम्म अभियान सञ्चालन गरिएको थियो । अभियानका क्रममा जिल्लाका विभिन्न विद्यालय र तत्कालीन गाविसमा रहेका व्यक्तिको नमूना रगत संकलन गरिएको थियो ।
त्यति बेला पनि हात्तीपाइलेबाट संक्रमित भेटिएका थिए । त्यसपछि पनि अभियान सञ्चालन गरिएपछि पाँचौँ, छैठौँ र आठौँ वर्ष पनि नमूना रक्त परीक्षण गर्दा फेरि संक्रमित भेटिएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । अभियान २०६४ देखि लगातार सञ्चालन गरिँदै आएको छ तर रोग भने नियन्त्रणमा आउन सकेको छैन ।
नौ वर्षे अभियानमा पाँच लाख ५३ हजार, ५२४ मध्ये चार लाख ७५ हजार ९६१ जनाले मात्र औषधि खाएको स्वास्थ्य कार्यालयले जनाएको छ । यसरी जिल्लाको तथ्यांक हेर्दा सरकारले सन् २०२० भित्र हात्तीपाइले रोगीको संख्या एक प्रतिशतभन्दा कममा झार्ने कुरा निकै चुनौतीपूर्ण रहेको स्वयं स्वाथ्यकर्मी बताउँछन् ।
जिल्लामा यस वर्ष पुनः हात्तीपाइलेविरुद्धको महाअभियान सञ्चालन गरिँदै छ । यही फागुन १२ देखि तीन दिने अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । “नौ वर्षे अभियान उपलब्धिमूलक देखिएन, त्यसैले फेरि यो अभियान सञ्चालन गर्न लागेका छौँ, स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले भन्नुभयो,– “अभियानमा पोका पारेर औषधि बाँडियो, तर धेरैले खाएनन्, त्यसैले रोगको निवारण भएन ।” उहाँका अनुसार नमूना रक्त परीक्षणका क्रममा १३ प्रतिशतमा हात्तीपाइले रोगको परजीवी फेला परेका छन् ।
तत्कालीन बहादुरगञ्ज, महाराजगञ्ज र बाणगंंगा गाविसका ९०० जनाको नमूना परीक्षण गर्दा सो फेला परेको थियो । २०७२ कात्तिकमा केन्द्रीय र जिल्लास्तरीय टोलीले नमूना रक्त संकलन गरेको थियो । २०७२ सालमा बजेट स्वीकृत नहुँदा अभियान सञ्चालन भएको थिएन ।
विसं २०७१ मा जिल्लाका ४० विद्यालयका छ र सात वर्ष उमेरका बालबालिकामा समेत नमूना परीक्षण गर्दा करिब पाँच प्रतिशतमा हात्तीपाइलेको जीवाणु भेटिएको प्रमुख भगतले बताउनुभयो । सोही तथ्यांक बाहिर आएपछि जिल्लामा दुई वर्ष अभियान थपिएको थियो । यो हात्तीपाइले विरुद्धको अभियान जिल्लामा अन्तिम भएकाले सबैले हातेमालो गर्न उहाँले अपिल गर्नुभयो ।
सो रोगविरुद्ध दिइने औषधि पूर्णरूपमा सुरक्षित भए पनि भ्रममा परेर धेरैले नखाएपछि समस्या देखिएको तौलिहवा अस्पतालका डाक्टर सजल त्वानावासुले बताउनुभयो । “सो रोगविरुद्ध दिइने औषधि विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको हो, त्यसैले यो पूर्णरूपमा सुरक्षति छ, ढुक्कसँग खाए हुन्छ” उहाँले भन्नुभयो । औषधि सेवनले सामान्य असर देखिन सक्ने भएपनि केही नहुने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्