काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले गरेको राम्रो कामलाई पार्टी संगठनले नै राम्रो भन्न नसकेको गुनासो गरेका छन् । पार्टीको नयाँ वेबसाइट सार्वजनिक गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट इमान्दार प्रयत्न भइरहेको बताए ।
पछिल्लो पटक नेपाल सम्वतबारे गरेको निर्णयलाई उपत्यकाको नेवार समुदायले राम्रो मानेको भन्दै उनले भने, ‘अरुले राम्रो भनेका छन्, बधाई दिएका छन् । तर हाम्रै संयन्त्र चाहिँ कताकता राम्रो भन्न तयार भएको देखिँदैन ।’आत्मविश्वासका साथ सरकारले गरेको कामको पक्षमा उभिन उनले नेता कार्यकर्तालाई आग्रह गरे ।आइतबार मात्र आफूले सुकुम्बासी समस्या समाधानका लागि एक साताभित्र ऐन संशोधन गर्ने निर्णय गरेको उनले सुनाए । वन ऐन पनि संशोधन गर्ने निर्णय भएको भन्दै उनले त्यसपछि सुकुमबासी समस्या समाधान हुने दाबी गरे ।
स्कुलको अगाडि रहेको रुख ढलेर विद्यार्थीको मृत्यु भयो, तर रुख काट्न वनले अनुमति नदिएको भन्दै उनले भने, ‘त्यसलाई बदल्ने भनेर हामीले निर्णय गरेका छौं । त्यो ऐन संशोधनपछि लालपूर्जा वितरण वा वनले रोकेको विकास निर्माणका काम हुन्छ । त्यो खुल्नेवित्तिकै ठूलो क्रान्ति हुन्छ भन्ने मेरो विश्वास छ ।’







प्रतिक्रिया दिनुहोस्