काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन भातृसंस्थामा अध्यक्ष नियुक्त गरेका छन् ।
नियमित महाधिवेशनको म्याद सकिएर स्वतः विघटन भएका नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ र राष्ट्रिय लोकतान्त्रिक अपांग संघमा अध्यक्ष नियुक्त गरिएको हो ।
देउवाले प्रजातन्त्र सेनानी संघको अध्यक्षमा ओखलढुंगाका नेता बालकृष्ण दाहाललाई नियुक्त गरेका छन् । ०३१ सालमा जेलमा सार्ने बहानामा पञ्चायत सरकारबाट गोली हानेर हत्या गरिएका लीलानाथ दाहाका छोरा बालकृष्ण गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवका रूपमा लामो समय काम गरेका व्यक्ति हुन् ।
देउवाले भूतपूर्व सैनिक संघको अध्यक्षमा कपिलवस्तुका मेघरा टण्डन र लोकतान्त्रिक अपांग संघको अध्यक्षमा राष्ट्रियसभाको सुशासन समितिका सभापति समेत रहेका प्रकाश पन्थलाई नियुक्त गरेका कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्