काठमाडौँ, ११ पुस । दुईजना नेपालीको अपहरण गरेको आरोपमा ६ जना भारतीय अपहरणकारी सीतामढीबाट पक्राउ परेका छन्।
चितवनको भरतपुरका कृष्ण थापा र रत्ननगरका दीपेन्द्र महतको अपहरण गरेको आरोपमा ६ जना भारतीयहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
पक्राउ पर्ने भारतीयहरूमा रामनरेश कुमार, मोहम्मद अकबर, मोहम्मद नइम, कौसर अली, मोहम्मद सदाब र मोहम्मद इरसाद रहेका रौतहटका प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिइन्।
यही पुस ५ गते रौतहटको चन्द्रपुर जान मोटरसाइकल लिएर हिँडेका थापा र महत अपहरणमा परेका थिए।
पुस ७ गते थापाले फेसबुक मेसेन्जरमा श्रीमतीलाई कल गरेर अपहरणमा परेको र अपहरणकारीले आफूलाई मुक्त गर्न ६ लाख रुपैयाँ फिरौती मागेको जानकारी गराएपछि प्रहरीले भारतीय प्रहरीसँग सहयोग मागेको थियो।
भारतीय प्रहरीको सहयोग र समन्वयमा भारतको सीतामढीबाट हिजो दुवै जनालाई सकुशल उद्धार गरिएको थियो। उद्धारपछि दुवैजनाको स्वास्थ्य परीक्षण गरेर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
भारतीय प्रहरीले खोजतलास गर्दा हिजो (मंगलवार) भारतको सीतामढी डुम्रा थानाको भारतीय प्रहरीको टोलीले अपहरणमा परेका थापा र महतलाई सीतामढीबाट उद्धार गरेको थियो। भारतीय प्रहरी टोलीले अपहरणमा संलग्न ६ जनालाई पक्राउ गरेको थियो।
पीडितबाट अपहरण तथा शरीर बन्धक कसुरमा उजुरी लिएर भारतको सीतामढी प्रहरीले अपहरणकारीविरुद्ध अनुसन्धान अघि बढाएको जानकारी नेपाल प्रहरीले दिएको छ।







प्रतिक्रिया दिनुहोस्