ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बम्जन पक्रन प्रहरीले ‘अपरेसन ब्लू’, किन राख्यो कोड यस्तो थियो तयारी


एबीसी न्यूज
२६ पुस २०८०, बिहिबार   ८ : २३   बजे

काठमाडौं, २६ पुस । केन्द्रीय अनुसन्धान ब्युरोमा विगत १९ महिनादेखि कार्यरत् छन् प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारी। उनी पिल्लर नम्बर १ का इन्चार्ज हुन्। उक्त पिल्लरले जघन्य तथा संगठित अपराध अनुसन्धान गर्ने गर्छ। हत्या अपहरण, बलात्कार, बम बिस्फोटलगायत घटनाहरूको अनुसन्धान गर्ने उक्त टोलीलाई ‘टिओआर’ छ।

उनै भण्डारीको नेतृत्वमा मंगलबार बेलुका प्रहरीहरू रामबहादुर बमजनलाई पक्रन काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौंडा पुगेका थिए।बमजनको स्थायी ठेगाना बारा निजगढ नगरपालिका(१२ हो। २० वर्षीय उनको नाम रामलाल बमजन हो। तर, उनी रामबहादुर बमजन, तपस्वी बमजन, लिटिल बुद्धलगायत नामले चिनिएका थिए।

भण्डारी नेतृत्वको टोली १९ महिनादेखि बमजनको खोजीमा लागिरहेको थियो। त्यसअघि पनि ब्युरोले बमजनको खोजी नगरेको भने होइन। सिन्धुलीस्थित आश्रममा प्रहरी छापा मार्न पुग्दा बमजन भेटिएका थिएनन्।

हालसालै भने बमजन बुढानिलकण्ठ क्षेत्रमा आउने-जाने गर्छन् भन्ने सूचना ब्युरोमा आएको थियो। यसपछि ब्युरोले भण्डारीको नेतृत्वमा बमजन खोजीलाई ‘अपरेसन ब्लू’ नाम दिएर टोली खटायो ।

‘कुनै पनि अपरेसन चलाउनका लागि हामी आन्तरिक रूपमा केही कोडिङ गर्छौं, जसबारे त्यो अपरेसन टोलीलाई मात्रै थाहा हुन्छ,’ ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य भन्छन्, ‘यो सेक्युरिटी मेन्टेन गर्नका निम्ति मात्रै हो, अरू कसैले थाहा नपाउन् भनेर हो।’

‘अपरेसन ब्लू’ सक्रिय भएपछि डिएसपी भण्डारी बमजनको खोजीका लागि विभिन्न टेक्निकल अनुसन्धानमा जुटिरहेका थिए। ‘हिजो दिउँसोसम्म बमजन त्यहाँ छन् भन्ने थाहा थिएन, अचानक पत्ता लागेको हो,’ आचार्यले भने। आचार्यका अनुसार बमजन बसेको भिरालो जमिनमा रहेको चार तले घर पत्ता लागेको भन्दै भण्डारीले जब खबर गरे, अपरेसनका लागि टोली तयार पारियो।

प्रहरीले मंगलबार बेलुका सवा ७ बजे बमजन बसेको घरमा घेरा हाल्यो। एसपी भण्डारी घरभित्र छिर्नुअघि पहिलो तलामा नै उनकी श्रीमतीले अवरोध पुर्‍याइन्। उनका दुई छोराछोरी चिच्याउन थाले। बाहिर चारैतिर प्रहरीले घेरा हालिसकेको थियो।

भण्डारी श्रीमतीलाई पन्छाउँदै बमजनलाई समात्न घरभित्र छिरे। बमजन त्यसबेला दोस्रो तलामा थिए। भण्डारी पुगेपछि तेस्रो हुँदै घरको चौथो तलामा पुगे। त्यहाँबाट उनी भिरालोतर्फको जग्गामा हाम्फाले। ‘त्यो करिब एक तलाभन्दा अलि बढी उचाइबाट हो,’ आचार्यले भने। भण्डारी नेतृत्वको टोलीका सदस्य बमजन हामफालेको तलामुनि छँदैथिए। भाग्छन् भनेर टोलीका सदस्य पनि बमजनलाई समात्न चौथो तलाबाट हाम्फाले। त्यतिको उचाइबाट हाम्फाल्दा पनि बमजन थुचुक्क भएनन्।

डिएसपी भण्डारीले कुनै मौका दिएनन् र अन्ततस् बमजनको हातमा हत्कडी लगाएर गाडीमा कोचे। ‘बमजन पहिलेदेखि नै बुढानिलकण्ठमा बस्छन् भन्ने चाहिँ सुन्नमा आएको तर त्यही र घरमै छन् भन्ने भेरिफाई भएको हिजै हो,’ आचार्यले भने।

बमजन बस्ने ठाउँ यकिन गर्नका लागि त्यही घर चाहिँ महत्वपूर्ण सूचना बन्यो। जहाँ बमजनले आफ्नी श्रीमती, ९ वर्षका छोरा र २ वर्षकी छोरी राखेका थिए। साथसाथै, आफूले आर्जन गरेको केही सम्पत्ति पनि उनले त्यही घरमा थन्क्याएको पाइएको छ।

श्रीमतीको मोबाइल फोन कन्ट्याक्ट भेरिफाई गर्दैजाँदा बमजन फेला परेका हुन्। आचार्य भन्छन्, ‘अनुसन्धानका क्रममा विभिन्न कुराहरू भेरिफाई गर्दै जानुपर्ने हुन्छ, यसमा हामीले धेरै मेहनत गरेका थियौं।’

त्यो घर बमजन आफैंले खरिद गरेको हो वा कसैले बस्न दिएको हो भन्नेबारे खुलिसकेको छैन। ‘त्यो घरबारे हामीले अनुसन्धान गरेकै छैनौं, पहिले व्यक्ति पत्ता लगाउने, पक्रने र सम्बन्धित निकायमा बुझाउने काम मात्रै भएको छ,’ आचार्यले भने।

तर, एक अधिकृतका अनुसार बमजनको संस्थाले त्यो घर खरिद गरेको हो भन्ने बुझिएको छ। ‘बयानमा उनले आफ्नो नभएर संस्थाले किनिदिएको भन्ने गरेका छन्,’ ती अधिकृतले भने।

बमजन त्यहाँ व्यवस्थित साथ स्थायी रूपमै बस्न थालेका हुन् भन्ने प्रमाणहरू भेटिएका छन्। बमजनको घरमा सुविधासम्पन्न गाडी फेला पर्नु, तीन करोड बढी रकम फेला पर्नुले त्यसको पुष्ट्याइँ गर्छ। अझ, बमजन बसेको घरभित्रै शारीरिक अभ्यासका लागि खोलिएको ‘क्लब’ जस्तै सुविधासम्पन्न जिमखाना छ। जहाँ, बमजन शारीरिक अभ्यास गर्थे।

चार जना व्यक्ति बेपत्ता र अनुयायीमाथि बलात्कार तथा बाल यौन दुराचार गरेको आरोप लागेपछि बमजन प्रहरी खोजीमा थिए। २०७१ साल साउन महिनादेखि बाराको हलखोरियास्थित आश्रममा काम गर्ने एक नाबालिका आनीले जाहेरी दिएपछि बमजनको खोजीमा प्रहरी लागिरहेको थियो।

बमजनले बलात्कार तथा यौन शोषण गर्ने गरेको जाहेरी परेपछि प्रहरीले उनीविरूद्ध २०७६ साल माघ २३ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो। आचार्यका अनुसार यो मुद्दाको अनुसन्धानका लागि बमजनलाई सर्लाही पठाइएको छ।

बम्जनको आश्रमबाट हालसम्म चार जना बेपत्ता भएको खुलेको छ। तिनीहरूमध्ये एक हुन् २९ वर्षीया चुन्मो भनिने चिनिमाया तामाङ। नुवाकोट मेधाङ गाउँपालिका(३ घर भएकी उनी सिन्धुपाल्चोकस्थित बाडेगाउँको आश्रमबाट बेपत्ता भएकी थिइन्।

ब्युरोका एसएसपी दिनेश आचार्यका अनुसार उनी २०६९ साल असोज महिनाबाट बेपत्ता छिन्। उनी अहिलेसम्म कहाँ छिन् खुलेको छैन।
यस्तै, सिन्धुपाल्चोक बाडेगाउँ आश्रमबाट बेपत्ता भएका अर्का व्यक्ति हुन् ५१ वर्षीय सञ्चलाल वाइबा। हेटौंडा उपमहानगरपालिका-१३ घर भएका उनी २०७१ साल चैत १४ गतेबाट बेपत्ता भएका थिए।

सिन्धुपाल्चोक बाडेगाउँकै आश्रमबाट बेपत्ता भएकी तेस्रो व्यक्ति हुन् फूलमाया रुम्बा। ३० वर्षीय रुम्बा हेटौंडा उपमहानगरपालिका-१६ की हुन्। उनी २०७१ साल माघ महिनाबाट बेपत्ता भएकी थिइन्। यसैगरी, बमजनको आश्रमबाट बेपत्ता भएका चौथो व्यक्ति ३४ वर्षीय सुरेशकुमार आले हुन्। उनी निजगढ नगरपालिका(१२ खुमजोरस्थित बमजनको आश्रमबाट २०७२ जेठ महिनामा बेपत्ता भएका थिए। उनी जितपुर सिमरा उपमहानगरपालिका(१५ बडहर्वाका हुन्।

‘बेपत्ता व्यक्तिहरूबारे खोजी तथा अनुसन्धान सुरू गर्दैछौं, अहिले हालसम्म दर्ता भएको मुद्दाको अनुसन्धानका लागि सर्लाही पठाइएको हो,’ आचार्यले भने। प्रहरीले बमजनको घरबाट १७ देशका विदेशी मुद्रा फेला पारेको थियो।

ब्युरोका एक अधिकृतका अनुसार १७ देशका विदेशी मुद्राको नेरु ३० लाख ९२ हजार ४०६ हुन जान्छ। बमजनको घरबाट प्रहरीले नेपाली रकम ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ बरामद गरेको छ। उनको घरबाट विदेशी मुद्रा र नेपाली गरी ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बरामद भएको ती अधिकृतले बताए।

बरामद अन्यमा गाडी तथा मोटरसाइकल रहेका छन्। प्रहरीबाट बम्जन चढ्ने गरेको प्रदेश-३-०१-०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयटा फर्चुनर गाडी बरामद भएको छ। यस्तै, सेतो रङको अर्को ल्याण्डक्रुजर जेडएक्स गाडी बरामद भएको छ। उक्त गाडी ललितपुर २२ बुङमती बस्ने बौद्ध श्रवन धर्म संघ ललितपुरका अध्यक्ष पनित महर्जनको नाममा रहेको खुलेको छ। उक्त गाडी धुम्बाराहीस्थित युनाइटेड ट्रेडर्स सिन्डीकेट प्रालि शोरूममा पाँच करोडमा बुक भएकोमा ३ करोड नगदै भुक्तानी भई खरिदको क्रममा रहेको देखिएको छ।

उनको घरबाट क्रस फायर ३९० सिसीको केटिएम डुक, यामहाको स्कुटरसहित चार वटा मोटरसाइकल बरामद भएको ब्युरोले जनाएको छ।
बरामद अन्य सामानमा मोटरसाइकलका बिलबुक तीन थान, टोयटा हाइलक्स गाडीको चाबी १ थान, पेनड्राइभ २० थान, भ्वाइस रेकर्डर १ थान, मेमोरी कार्ड २ थान, ल्यापटप २ थान, मोबाइल १४ थान र आइप्याड र ट्याब ५ थान छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group