काठमाडौं २ माघ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री प्रकरणमा सीईओ जाब्बोर कायुमोभलाई छानबिन समितिले बोलाएर सोधपुछ गरेको छ ।
सरकारको उच्चस्तरीय छानबिन समितिले एनसेलको सेयर खरिद–बिक्री प्रकरणका सम्बन्धमा जाब्बोरलाई बोलाएर सोधपुछ गरेको एनसेल स्रोतले जानकारी दिएको छ । एनसेलको खरिद बिक्री सम्बन्धमा सरकारले बनाएको छानबिन समितिले छानबिन गरिरहेको छ ।
मलेसियन कम्पनी आजियाटाले सन् २०१६ मा करिब एक खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको ८० प्रतिशत सेयर किनेको थियो । सन् २०२३ को डिसेम्बर १ मा आजियाटाले करिब साढे ६ अर्ब रुपैयाँमै उक्त सेयर बिक्री गरेको घोषणा गरेको छ । थप केही वर्ष लाभ लैजाने गरी कम्पनीले सेयर पर्चेज एग्रीमेन्ट ९एसपीए० गरेको छ ।
ठूलो सेवा प्रदायक कम्पनीको पत्यार नलाग्दो खरिद–बिक्री मूल्य देखिएको भन्दै व्यापक टिकाटिप्पणी भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । नेपालमा सञ्चालनमा रहेको एनसेलको सेयर खरिद–बिक्रीसमेत तेस्रो मुलुकमा भएको छ । यही प्रकरण छानबिन गर्न सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।
उच्चस्तरीय छानबिन समितिको सदस्यमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन् । समितिले छानबिनका क्रममा सरकारी निकाय र एनसेलका अधिकारीबाट विवरण माग गरेको थियो ।
समितिले माघ १५ गतेसम्म छानबिन एवं अध्ययन गरी प्रतिवेदन बुझाउने छ । यसबीच समितिले एनसेल, राजस्व विभाग, दूरसञ्चार प्राधिकरणलगायत सरोकारवाला निकायबाट विवरण मागेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार, समितिले छानबिनका क्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० जाब्बोरलाई पनि बोलाएको हो ।
समितिसँग एनसेलका सीईओ जाब्बोरले सेयर खरिद–बिक्रीबारे आफूलाई थाहा नभएको अभिव्यक्ति दिएको स्रोतले बताएको छ । एनसेल स्रोतले नै सीईओ जाब्बोर छानबिन समितिकहाँ गएको पुष्टि गरेको छ । “कम्पनीको सेयर खरिद–बिक्रीका विषयमा मलाई थाहा हुन्न । त्यो माथिल्लो तहलाई थाहा हुने कुरा हो,” आफू एक कर्मचारी मात्रै भएको बताउँदै सीईओले बचाउपूर्ण टिप्पणी गरेको एनसेल स्रोतको भनाइ छ ।
दूरसञ्चार ऐन, २०५३ को व्यवस्था अनुसार ५ प्रतिशत भन्दा बढी सेयर खरिद–बिक्री गर्न दूरसञ्चार कम्पनीले नियामक निकायको अनुमिति लिनुपर्छ । हालसम्म प्राधिकरणबाट आजियाटाले अनुमति मागेको छैन । तर, उद्योग विभागलाई भने सेयर बिक्री गरिसकेको जानकारी गराएको छ ।
विवादमा तानिए एनसेलका सीईओ जाब्बोर, सांसद भन्छन्– चलखेलका लागि बनाइएको थियो
विदेशी लगानी एवं प्रविधि हस्तान्तरण ऐनले सेयर खरिद–बिक्री भएको ३० दिनभित्र जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ । त्यहीअनुरुप विभागलाई भने आजियाटाले जानकारी गराएको हो । एनसेलको ८० प्रतिशत सेयर सेन्ट किट्स टापुमा रहेको विदेशी कम्पनी रेनोल्ड्स होल्डिङ लिमिटेडको नाममा छ । २० प्रतिशत स्थानीय लगानीकर्ता सुनिभेरा क्यापिटल भेन्चरको छ ।
रेनोल्ड्स होल्डिङ मलेसियन कम्पनी आजियाटा ग्रुप बहार्डको स्वामित्वमा बेलायतमा रहेको आजियाटा युके लिमिटेडअन्तर्गत थियो । आजियाटाले गत डिसेम्बर १ मा उक्त ८० प्रतिशत सेयर अथवा रेनोल्ड्स होल्डिङ स्पेक्ट्रलाइट युके लिमिटेडलाई बिक्री गर्दै नेपालबाट बाहिरिएको घोषणा गरेको थियो ।
एनसेलको ८० प्रतिशत सेयर किन्ने कम्पनी स्पेक्ट्रलाइट युके नेपाली मूलका व्यापारी सतिशलाल आचार्यको हो । एनसेलमा २० प्रतिशत सेयर रहेको नेपाली कम्पनी सुनिभेरा क्यापिटल पनि सतिशलालकै भएको र सेयर उनकी पत्नीको नाममा रहेको भनिएको छ ।
आजियाटाले आफ्नो सेयर स्पेक्ट्रलाइटलाई बिक्री गरिसकेको बताएको छ । स्पेक्ट्रलाइटका मालिक आचार्यले समेत सेयर आफूले किनिसकेको पुष्टि गरेका छन् । यस्तोमा अब छानबिन समितिले कस्तो प्रतिवेदन बुझाउँछ र सरकार वा नियामक निकायले कस्तो कदम चाल्छ भन्ने कुराले नै निर्धारण गर्ने प्राधिकरणका एक अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस्