ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चय कोषमा योगदानकर्ताका दम्पतीले पनि अब उपचार खर्च पाउने


एबीसी न्यूज
१६ माघ २०८०, मंगलबार   २ : ००   बजे

काठमाडौं १६ माघ । कर्मचारी सञ्चय कोषले आफ्ना योगदानकर्तालाई उपलव्ध गराउँदै आएको स्वास्थ्योपचार सेवाको दायरा विस्तार गरेको छ । आगामी फागुन १ गतेबाट लागू हुनेगरी योगदानकर्ताका दम्पतीले पनि स्वास्थ्योपचार पाउनेगरी दायरा विस्तार गर्न लागिएको कोषले जनाएको छ ।

कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गरिएको साधारण रोगको हकमा प्रत्येक वर्ष अधिकतम रु एक लाखसम्म र घातक रोगको हकमा सेवा अवधिभर अधिकतम रु १० लाखसम्म स्वास्थ्योपचार सुविधा उपलव्ध गराउँदै आएको छ ।

अहिले यो कार्यक्रमको दायरा विस्तार गरी सञ्चयकर्ताको पति वा पत्नीसमेतलाई समावेश गर्ने व्यवस्था मिलाइएको कोषका प्रशासक जितेन्द्र धितालले राससलाई जानकारी दिनुभयो । “यसअघि सञ्चयकर्तालाई मात्र उपलव्ध गराउँदै आइएको उक्त योजनामा २०८० फागुन १ गतेदेखि लागू हुनेगरी सञ्चयकर्ताको पति वा पत्नीलाई समेत समावेश गरिएको छ”, उहाँले भन्नुभयो, “सञ्चयकर्ताको परिवारमा थप राहत पुग्ने अपेक्षासहित यो सुविधाको दायरा विस्तार गरिएको हो ।”

गत पुसमा ‘कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा योजना सञ्चालन विनियम, २०८०’ स्वीकृत भएसँगै स्वास्थ्योपचार सुविधा विस्तारको बाटो खुलेको थियो । फागुन १ गतेदेखि कार्यान्वयनमा जाने विनियमावलीले स्वास्थ्योपचार गर्दा शोधभर्ना पाउने अस्पतालहरूको सूचीमा पनि संशोधन गरेको प्रशासक धितालले बताउनुभयो । विनियमको सूचीमा समेटिएका अस्पतालहरूमा उपचार गराएको हकमा मात्र कोषबाट स्वास्थ्योपचार सुविधा उपलव्ध गराइनेछ ।

हाल सञ्चयकर्तालाई जुनसुकै अस्पतालमा उपचार गराउँदा शोधभर्ना उपलव्ध गराउँदै आएकामा अबदेखि सबै केन्द्रीय, प्रादेशिक, जिल्ला तथा पालिकास्तरका सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य केन्द्रहरू, नेपाल सरकारको स्वामित्वमा सञ्चालित अस्पताल, सबै शिक्षण अस्पतालबाट यो सुविधा उपलव्ध हुनेछ । साथै विनियमको अनुसूचीमा उल्लेखित एक सय २० वटा अस्पतालमा उपचार गराएको अवस्थामा मात्र शोधभर्ना उपलव्ध हुने कोषले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत मङ्सिरमा ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका, २०८०’ जारी गर्दै विपन्न नागरिकलाई विभिन्न आठ प्रकारका घातक रोगको उपचारका लागि देशभरिका एक सय २० वटा अस्पताल तोकेको थियो ।

सञ्चय कोषले पनि तिनै अस्पतालमा उपचार गराएमात्र उपचार रकम शोधभर्ना दिने व्यवस्था ल्याएको हो । त्यस्तै यसअघि नेपालमा उपचार सम्भव नभएको अवस्थामा भारतका अस्पतालमा गएर उपचार गर्ने योगदानकर्तालाई पनि कोषले शोधभर्ना दिने गरेकामा हाल त्यस्तो व्यवस्थासमेत हटाइएको प्रशासक धितालले बताउनुभयो ।

कर्मचारी सञ्चय कोषको स्वास्थ्योपचार सुविधाअन्तर्गत रोगलाई साधारण रोग र प्राणघातक रोगका रूपमा वर्गीकरण गरी सोहीअनुसार शोधभर्ना रकम निर्धारण गरिएको छ । साधारण रोगको हकमा एक आर्थिक वर्षमा अधिकतम रु एक लाखसम्मको स्वास्थ्योपचार सेवा उपलव्ध गराइँदै आएको छ भने विभिन्न १२ प्रकारका प्राणघातक रोगको हकमा सेवा अवधिभर अधिकतम रु १० लाखसम्मको स्वास्थ्योपचारको शोधभर्ना कोषले दिइरहेको छ । क्यान्सर, हृदयघात, मस्तिष्कघात, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, प्यारालाइसिस, पार्किन्सन्स, सिकलसेल एनिमिया, अल्जाइमर्सलगायतका बाह्र प्रकारका रोगलाई घातक रोगका रुपमा वर्गीकरण गरिएको छ ।

स्वास्थ्योपचार रकमको शोधभर्ना दाबीका लागि अस्पताल भर्ना भएको मितिमा कम्तीमा छ महिना कोषकट्टी भएको हुनुपर्नेछ । त्यस्तै अस्पतालबाट डिस्चार्ज भएको मितिले दुई महिनाभित्र दाबी पेस गरिसक्नुपर्नेछ । बिरामीको मृत्यु भएको हकमा दाबीको म्याद तीन महिना हुने व्यवस्था कोषले गरेको छ ।

कोषले २०७० सालदेखि स्वास्थ्योपचार सुविधा कार्यान्वयनमा ल्याएको थियो । विसं २०७५ मङ्सिरदेखि राष्ट्रिय बीमा कम्पनी लिमिटेडमार्फत शोधभर्ना दिने व्यवस्था गरिएकामा २०७६ मङ्सिरदेखि यसलाई परिमार्जन गरी कोष आफैँले नै स्वास्थ्योपचार कार्यक्रम व्यवस्थापन गर्दै आएको छ । आगामी फागुन १ गतेदेखि स्वास्थ्योपचारसहितको कोषले हाल सञ्चालन गरिरहेको सबै सामाजिक सुरक्षा कार्यक्रम एकीकृत विनियमबमोजिम सञ्चालन हुनेछन् । कोषले आफ्नै स्रोतबाट सञ्चयकर्तालाई कुनै व्ययभार नपर्नेगरी विभिन्न कोष खडा गरी सञ्चयकर्ताको हितमा यस्ता सुविधा प्रदान गर्दै आएको जनाएको छ ।

गत आर्थिक वर्ष २०७९÷८० मा यो योजनाबाट कोषले दुई हजार चार सय ५७ सञ्चयकर्तालाई रु १६ करोड ६७ लाख रकमबराबरको स्वास्थ्योपचार सेवा उपलव्ध गराएको थियो । यसमध्ये साधारण रोगबापत एक हजार नौ सय १७ जना सञ्चयकर्तालाई रु सात करोड सात लाख र प्राणघातक रोगबापत पाँच सय ४० सञ्चयकर्तालाई रु नौ करोड ६० लाखबराबर शोधभर्ना रकम भुक्तानी भएको कोषले जनाएको छ ।

चालु आव २०८०÷८१ को पुस मसान्तसम्ममा स्वास्थ्योपचार योजनातर्फ दुई हजार छ सय ८२ जना सञ्चयकर्तालाई रु १५ करोड ५६ लाखबराबर स्वास्थ्योपचार सेवा प्रदान गरिएको छ । यसमध्ये साधारण रोगबापत दुई हजार दुई सय १२ सञ्चयकर्तालाई रु आठ करोड १२ लाख तथा घातक रोगबापत चार सय ७० सञ्चयकर्तालाई रु सात करोड ४४ लाखबराबर शोधभर्ना भुक्तानी भएको हो ।

त्यस्तै कोषले गत आवमा काजकिरिया अनुदान योजनातर्फ सात सय ९० जना सञ्चयकर्तालाई रु तीन करोड १६ लाख र सुत्केरी तथा शिशु स्याहार योजनातर्फ १९ हजार ८७ जना सञ्चयकर्तालाई रु १४ करोड ३२ लाख भुक्तानी गरेको छ । दुर्घटना क्षतिपूर्ति योजनातर्फ एक सय ६४ जना सञ्चयकर्तालाई रु तीन करोड २८ लाख भुक्तानी भएको पनि कोषले जनाएको छ ।

चालु आवको छ महिनामा काजकिरिया अनुदान योजनातर्फ तीन सय ४६ जना सञ्चयकर्तालाई रु एक करोड ३९ लाख, सुत्केरी तथा शिशु स्याहार योजनातर्फ नौ हजार छ सय ९१ जना सञ्चयकर्तालाई रु सात करोड २७ लाख र दुर्घटना क्षतिपूर्ति योजनातर्फ ५६ जना सञ्चयकर्तालाई रु एक करोड १२ लाख भुक्तानी भएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group