काठमाडौं, २६ माघ । अध्यागमन कर्मचारीसँग भएको विवादमा कारबाहीका लागि सिफारिस भएका तीन प्रहरी अधिकारीलाई विमानस्थलबाट सरुवा गरिएको छ ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समितिको प्रतिवेदनपछि सोधपुछका लागि भन्दै सरुवा गरेको एक प्रहरी अधिकृतले बताए ।
सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र राजकुमार महतो छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायाँलाल मोक्तान १२ माघमा विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए ।
मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्न खोज्दा मोक्तानले आफू ‘अधिकृत भएको’ बताउँदै जाँच नगरी हिँड्न खोजेका थिए । त्यसक्रममा उनले अपशब्द समेत बोलेको प्रहरीको दाबी छ ।
त्यसपछि प्रहरी र कर्मचारीबीच कुटाकुट भएको थियो । यही विषयलाई लिएर विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दले प्रहरी जवानलाई पुरस्कृत गर्नुपर्ने बताउँदै आएका थिए ।
तर, गृह मन्त्रालयले बनाएको सह–सचिव थानेश्वर गौतम नेतृत्वको छानबिन समितिले कारबाही गर्न सिफारिस गरेपछि उनी रुष्ट बनेका थिए । त्यहीबीच उनले राजीनामा पत्र बुझाएका थिए ।
यद्यपि, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, एआईजी टेकप्रसाद राई, मिरा चौधरी लगायतसँग भएको छलफलपछि राजीनामा रितपूर्वक नभएको भन्दै प्रहरी प्रधान कार्यालयले राजीनामा अघि बढाएको थिएन ।
यसपछि चन्द अहिले १० दिन बिदामा छन् । विमानस्थलका एसएसपी दिपशमशेर जबराले विमानस्थल प्रहरीले तीन प्रहरीलाई पुरस्कृत गरिएको विषय बाहिर आए पनि त्यसबारे कार्यालयले कुनै निर्णय नगरेको बताए ।
प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले पनि छानबिन समितिले कारबाही गर्न सिफारिस गरेका बेला पुरस्कृत गरेको भए कारबाही हुने बताए । यद्यपि, पुरस्कृत गरिएकोबारे उपत्यका प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालय दुवैले जानकारी नभएको जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकाल भन्छन्, ‘प्रहरी किताबखानालाई पनि जानकारी गराउनुपर्ने हुनाले उपत्यका प्रहरी हुँदै प्रहरी प्रधान कार्यालयसम्म त्यो विवरण आउनुपर्छ, अहिलेसम्म आएको मलाई जानकारी छैन ।’
प्रतिक्रिया दिनुहोस्