काठमाडौं, २९ माघ । क्यानडासँगको एक दिवसीय सिरिजमा नेपालले तेस्रो तथा अन्तिम खेल आज खेल्दैछ । खेल बिहान ९स्१५ मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटले विजयी भएको थियो । नेपाल अन्तिम खेलमा विजयीका साथ सिरिजमा क्लिन स्वीप गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।उता क्यानडा अन्तिम खेलमा जितका साथ क्लिन स्वीप हुनबाट बच्न चाहन्छ ।नेपालले आजको खेलमा तीव्र गतिका बलर हेमन्त धामीलाई डेब्यु दिने सम्भावना छ । सम्भव त अनुभवी तीव्र गतिका बलर सोमपाल कामीलाई विश्राम दिंदै हेमन्तले डेब्यु गर्न दिनसक्छ ।सोमपाललाई विश्राम नदिए रिजन ढकाललाई बाहिर राख्ने सम्भावना छ। त्यस्तै कुशल भुर्तेल फर्किंदा आसिफले विश्राम पाउने सम्भावना छ ।
पछिल्लो खेलमा २० बलमा ५० रनको आक्रामक इनिङ खेलेका अनिललाई नेपालले थप मौका दिने देखिन्छ । ७६ रन बनाएका देव खनालले पनि मौका पाउनेछन् । लिग २ मा नभएका देव र अनिल अन्तिम खेलमा सानदार प्रदर्शन गर्ने सोचमा हुनेछन् ।
क्यानडाले दुवै खेलमा ब्याटिङमा राम्रो सुरुवात गरेको छ । तर, अन्तिम २० ओभर भने लगातार विकेट गुमाउँदा विशाल योगफलमा पुग्न सकेको छैन । सिरिज हारिसकेको अवस्थामा आज विना दबाब झन् राम्रो गर्न सक्छ । ओपनर आरोन जोनसनले पछिल्लो खेलमा ६५ रनको इनिङ खेलेका थिए । आक्रामक ब्याटर उनी नेपाललाई घातक बन्न सक्छन् । परगत सिंह, निकोलस किर्तोन र नवनित धलिवाल राम्रो ब्याटर हुन् ।क्यानडाको तीव्र गतिको बलिङ आक्रामण त्यति बलियो छैन । तर स्पिनर साद बिन जफरले भने नेपाली ब्याटरलाई खुलेर खेल्न दिएका छैनन् ।
नेपालले बिहीबारदेखि घरेलु मैदानमा सुरु हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्स र नामिबियासँग खेल्नुअघि तयारीको लागि क्यानडासँग खेलेको हो । उता क्यानडा लिग–२ अन्तर्गत नै यूएई र स्कटल्यान्डसँग दुबईमा खेल्नुअघि तयारीको लागि नेपाल आएको हो ।
प्रतिक्रिया दिनुहोस्