काठमाडौं, १२ चैत्र । पहिलो टी–२० खेलमा आयरल्यान्डको ए क्रिकेट टिम आयरल्यान्ड्स वुल्भ्समाथि नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको हो। आयरल्यान्ड दिएको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। नेपालको जितमा ओपनर कुशल भुर्तेल नटआउट ३७ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट २० रन जोडे। कुशलले ३२ बलमा ४ चौका र दीपेन्द्रले १२ बलमा २ चौका र १ छक्का हिर्काए। त्यसअघि सन्दीप जोराले ३५ बलमा ३६ रनको योगदान गरे। उनले ३ चौका र २ छक्का प्रहार गरे।
तर नेपालले चौथो ओभरमा दुई विकेट गुमाएको थियो। दोस्रो बलमा आसिफ शेखलाई १० रन र चौथो बलमा रोहित पौडेललाई शून्यमा गुमाएको हो। दुवैलाई आयरल्यान्डका ग्यारेथ डेलिनीले आउट गरे। आसिफ एलबिडब्लूको धरापमा पर्दा रोहित विकेट पछाडि समातिए। लगत्तै अर्को ओभरमा गुल्सन झा ४ रनमा आउट भए। नेपालले आइसिसी टी-२० विश्वकपको तयारीका लागि आयरल्यान्डसँग खेलेको हो। भोलि आयरल्यान्डसँग दोस्रो टी(२० खेलेपछि नेपाली टिम भारत जानेछ। कीर्तिपुरमा भने नेपालको ए टिम र आयरल्यान्ड वुल्भ्सबीच तीन टी–२० र तीन एकदिवसीय खेल हुनेछ।
प्रतिक्रिया दिनुहोस्