काठमाडौं, २० बैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि२० सिरिजको चौथो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२:१५ बजे सुरु हुनेछ ।
नेपालले पहिलो खेल ४ विकेटले जितेपछि पाहुना टोलीले दोस्रो खेल १० रनले जित्दै सिरिज बराबर गरेको थियो । बुधबार भएको तेस्रो खेलमा जोन्सन चार्ल्सको शतकमा वेस्ट इन्डिज ‘ए’ ले ७६ रनको जित हासिल गर्दै सिरिजमा २(१ को अग्रता लिएको छ । आजको खेलमा नेपाल सिरिज बराबर गर्न चाहन्छ ।
सिरिजको तीनै खेलमा नेपालले आफ्नो मुख्य टोली खेलाएको छैन । ओपनर आसिफ शेख र सन्दीप जोराले कुनै खेल खेलेका छैनन् भने अन्य खेलाडीले पनि विश्राम लिएका छन् । विश्वकपका लागि अन्तिम टोली घोषणा गर्नुअघि सबैलाई अवसर दिने लक्ष्यसहित यो निर्णय लिइएको थियो । बुधबार साँझ टोली सार्वजनिक भएसँगै अब नेपालले आफ्नो मुख्य ११ खेलाउनेछ ।
आज नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेललाई निरन्तरता दिने देखिन्छ । मध्यक्रममा रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुलशन झा रहनेछन् । बलिङमा करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी खेल्ने सम्भावना छ ।
नेपाली टोली
रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहोरा, विवेक यादव, आकाश चन्द, कमल सिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।
वेस्ट इन्डिज ‘ए’ टोली:
रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स ।
प्रतिक्रिया दिनुहोस्