काठमाडौं, ११ फागुन । विपक्षी दल नेपाली कांग्रेसका भातृ संस्थाहरुले राष्ट्रपति र सरकारविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्न कार्यदल गठन गरेका छन्।
तरुण दलको अगुवाइमा रविभवनमा शुक्रबार भएको भेलाले १० सदस्यीय कार्यदल गठन भएको छ।
कार्यदलले आन्दोलनका विभिन्न कार्यक्रम तय गर्ने तरुण दलका अध्यक्ष जितजंग बस्नेतले जानकारी दिए। कांग्रेस नेतृत्वको सरकारले राष्ट्रियसभामा सिफारिस गरेका तीनजनाको नाम फिर्ता लिएर केपी ओली नेतृत्वको सरकारले अरु नै व्यक्ति पठाएपछि तरुण दल आन्दोलित भएको छ।
तरुण दलले बुधबार राष्ट्रपति भवन शीतल निवासमा ज्ञापनपत्र बुझाउँदै प्रर्दशन गरेको थियो। शुक्रबारको छलफलमा सबै भातृ संस्थाहरुले राष्ट्रपति र सरकार विरुद्ध सडक आन्दोलन नै गर्नुपर्ने धारणा राखेका अध्यक्ष जितजंग बस्नेतले बताए।
राष्ट्रपति विद्यादेवी भण्डारीले देउवा सरकारले गरेको सिफारिस स्वीकृत नगरी ओली नेतृत्वको सरकारले गरेको सिफारिस अनुमोदन गरेपछि कांग्रेसले आपत्ति जनाएको छ।
भेलामा तरुण दलसहित नेविसंघ, महिला संघ, दलित संघलगायत भातृ संस्थाहरुको सहभागीता थियो।
प्रतिक्रिया दिनुहोस्