काठमाडौं १८ असार । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक परामर्शमा जुटेका छन् ।
उनले आफ्नै दल माओवादी केन्द्रका पदाधिकारीहरुसंग परामर्श गरेका छन् । आजै उनले सत्ता गठबन्धनमा रहेका एमालेबाहेकका दलहरुसँग पनि परामर्श गर्ने तयारी गरेका छन् ।
मध्य रातमा शेरबहादुर देउवासँग अन्नपूर्ण पोष्टका सञ्चालक रामेश्वर थापाको घरमा सहमति पत्रमा हस्ताक्षर गरेको एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डलाई नयाँ अवस्थाबारे जानकारी गराउन बालुवाटार पुगेका छन्। ओलीले प्रचण्डलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् भने प्रचण्डले ओलीलाई कुनै ठोस जबाफ नदिएको बालुवाटर स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री राजीनामा दिने कि संसदमा विश्वासको मत लिने भन्ने छलफलमै छन् । ‘राजीनामा दिने नदिने निर्णय भइसकेको छैन’ स्रोत भन्छ, ‘तर प्रधानमन्त्रीको मुड तत्काल राजीनामा नदिने जस्तो देखिएको छ ।’
त्यसो भएमा एमालेले समर्थन फिर्ता लिनसक्छ । तर प्रधानमन्त्री प्रचण्डसँग विश्वासको मत लिन ३० दिन रहन्छ । उनले विश्वासको मत नपाए नयाँ सरकार गठनको बाटो खुलेपनि धारा ७६ को उपधारा २ अनुसार नै गर्ने कि उपधारा २ अनुसारको सरकार फेल भएपछि उपधारा ३ अनुसार अल्पमतको सकार गठन गर्ने भन्ने विषयमा संवैधानिक अन्योल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्