काठमाडौं – भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन्।
देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। विपद्जन्य घटनामा परेर स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको हो।
प्रवक्ता कार्कीले दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी छजना बेपत्ता भएका छन्। अहिलेसम्म तनहुँ, गुल्मी ओखल्ढुङ्गामा गरेर सातजना घाइते भएका छन्। अन्य विवरण आउन बाँकी छ।
भारी वर्षाका कारण शनिबार देशभरकै जनजीवन प्रभावित भएको छ। कोशी नारायणीलगायतका ठूला नदीमा जलसतह उच्च भएको छ भने अन्य साना खोला खहरे पनि उर्लिएको छ। काठमाडौँमा वर्षा रोकिने र फेरि सुरुहुनेक्रम जलिरहेको छ। देशका कतिपय जिल्लामा वर्षा भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्