काठमाडौ, १ साउन । जिल्ला प्रशासन कार्यालय चितवनले नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट पहिरोसँगै खसेका दुई वटा बसमा रहेका यात्रुको नामसहित विवरण सार्वजनिक गरेको छ । गएको शुक्रवार लेदोसहितको पहिरोले बगाउँदा दुई वटा बस र धेरैजसो यात्रु त्रिशूलीमा बेपत्ता छन् ।काठमाण्डौबाट गौरका लागि छुटेको एञ्जल बसमा चार जना महिला र २३ जना पुरुष गरी २७ जना र वीरगञ्जबाट काठमाण्डौका लागि छुटेको गणपति डिलक्स बसमा पाँच महिलासहित ३८ जना यात्रु रहेको विवरण नामसहित सार्वजनिक भएको छ । गणपति डिलक्सका तीन जना यात्रुले पौडिएर ज्यान जोगाएका थिए ।चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले आफन्तले दाबी गरेको, बसको यात्रु चलानमा उल्लेख भएको आधारमा विवरण तयार गरी सार्वजनिक गरिएको बताए । विवरण अनुसार १० जना भारतीय नागरिक रहेको खुलेको छ । तर अझै पनि केही विवरणमा अन्योल नै रहेको उनले बताए
खोजीका क्रममा १४ जनाको शव भेटिएको र तीमध्ये ७ जनाको परिचय खुलेर आफन्तले जिम्मा लिइसकेका छन् । बाँकी सात जनाको परिचय खुल्न सकेको छैन । अझै ४८ जना यात्रु र दुई बस बेपत्ता नै छन् । बेपत्ता यात्रु र बसको खोजी आज पाँचौ दिन पनि चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्