काठमाडौं । नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा बंगलादेशमा विद्युत निर्यातको लागि सम्झौता हुने भएको छ।
साउन १३ गते ३ देशका ऊर्जामन्त्रीको उपस्थितिमा त्रिपक्षीय हस्ताक्षर हुने भएको हो।
नेपालले उत्पादन गरेको विद्युत बंगलादेशले खरिद गर्ने सहमति भइसकेको छ। नेपालको विद्युत भारतीय प्रसारणलाइन प्रयोग गर्दै निर्यात हुने भएकाले त्रिपक्षीय सम्झौता हुने ऊर्जा मन्त्रालयले जनाएको छ।
ऊर्जा मन्त्रालयका प्रवक्ता नविन सिंहले ३ देशका ऊर्जामन्त्रीहरुको उपस्थितिमा बंगलादेशसँगको विद्युत् व्यापारमा सम्झौता हुने तालिका रहेको बताए।
उनले भने, ‘२८ तारिखमा तीन देशका ऊर्जामन्त्रीको सहभागितामा विद्युत् व्यापार सम्झौता हुँदै छ। २९ र ३० तारिखमा पोखरामा नेपाल र बंगलादेशका सहसचिव र सचिवस्तरीय बैठक पनि हुँदै छ।’
दुई देशबीच ऊर्जामन्त्रीसँगै ऊर्जासचिव र सहसचिवहरुको समेत बैठक हुने तय भएको उनले बताए। उक्त बैठक साउन १४ र १५ गते पोखरामा हुनेछ।
यसअघि असार ९ र १० गते पोखरामा बैठक हुने तय भएको थियो। बंगलादेशका ऊर्जा राज्यमन्त्री नरसरुल हमिद नै आउने भएपछि बैठक स्थगित भएको थियो।
विद्युत् प्राधिकरणले विद्युत व्यापारको सम्झौतालगत्तै वर्षातमै बंगलादेशमा विद्युत् निर्यातको सुरुवात गर्ने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस्