ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटले भारतमा सुन सस्तिँदा नेपालतिर तस्करीको जोखिम बढ्यो


एबीसी न्यूज
१० श्रावण २०८१, बिहिबार   १२ : २८   बजे

काठमाडौं १० साउन । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२४र२५ का लागि बजेट भाषणका क्रममा सुन र चाँदीको भन्सार शुल्क घटाइन् ।

भारतले बजेटमार्फत सुनको भन्सार दर जम्मा ६ प्रतिशत कायम गर्‍यो, यसअघि यो १५ प्रतिशत थियो । भन्सार दर घटेपछि प्रति १० ग्राम सुनको भाउ भारु ४ हजार घटेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।तर नेपालले भने गत जेठ १५ गते ल्याएको बजेटमार्फत सुनको भन्सार दर १५ बाट २० प्रतिशत पुर्‍यायो ।

यहीं बजेटका कारण भारतीयभन्दा नेपाली बजारमा सुनको भाउ महँगो भइसकेको थियो । भन्सार दर घटाएपछि भारतीय बजारमा सुनको भाउ अझ सस्तो भएको छ ।

बुधबार भारतीय बजारमा २४ क्यारेट सुनको भाउ औसत प्रति १० ग्राम ६९ हजार ६०० भारु अर्थात् १ लाख ११ हजार ३६० रुपैयाँ मूल्य छ । भारतका विभिन्न राज्यमा फरक फरक मूल्य रहने गरेको छ ।

तर नेपाली बजारमा यसै दिन उहीं गुणस्तर र परिमाणको मूल्य १ लाख २६ हजार ३७० रुपैयाँ तोकियो । अर्थात् भारत र नेपाली खुद्रा बजारमा सुनको मूल्य प्रति १० ग्राम नै १५ हजार रुपैयाँको अन्तर पर्न आएको छ । नेपालमा सामान्यतः तोलामा सुनको मापन हुने गरेको छ । एक तोला बराबर ११।६६ ग्राम हुन्छ ।

‘अब भारतमा भन्दा नेपालमा सुनको भाउ कम्तीमा प्रतितोला १५ हजार रुपैयाँ महँगो पर्ने गरेको छ’ नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले भने । भारतीय खुद्रा बजारभन्दा नेपाली बजारमा सुनको मूल्य धेरै नै महँगो हुने भएपछि तस्करीको जोखिम बढेको व्यवसायीको गुनासो छ ।

विगतका वर्षहरुमा चीन लगायत अन्य मुलुकबाट तस्करीको सुन नेपाल भित्रिने र नेपालबाट खुला सीमा भएको भारततिर जाने गर्दथ्यो । तर अब नेपालमा नै सुनको भाउ महँगो भएपछि भारतबाट समेत नेपालमा सहज रुपमा सुन तस्करी हुन सक्ने जोखिम बढेको बज्राचार्यले बताए ।

‘खुला सीमाका कारण अब भारतबाट सहजै नेपालमा सुन तस्करी हुने जोखिम देखिएको छ’ उनले भने ‘यसले तस्करको संख्या समेत बढ्न जाने र वैधानिक रुपमा हुने आयातलाई घटाउने छ ।’

जब वैधानिक रुपमा सुनको आयात घट्न जान्छ, त्यसले मुलुकले ठूलो मात्रामा राजश्व गुमाउँछ । राजश्व बढाउने लक्ष्यले सरकारले बजेटमार्फत भन्सार दर बढाएको थियो, त्यसको नतिजा प्रतियुत्पादक हुने जोखिम रहेको व्यवसायीको भनाइ छ ।

हाल सुन आयातमा सरकारले २० प्रतिशत भन्सार दरवापत प्रतितोला करिब २५ हजार रुपैयाँ राजश्व अशुल गर्दै आएको व्यवसायी बताउँछन् । तर जब अवैधानिक आयात बढ्न थाल्छ, त्यसपछि वैधानिक आयातको परिमाण नै घट्न गई राजश्वमा सीधा असर पर्दछ । त्यति मात्रै होइन, व्यवसायीले अवैध सुनको कारोबार गर्दा सरकारले आयकर समेत गुमाउँछ ।

महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य सरकारले तत्कालै भन्सार दर पुनरावलोकन नगरेमा यसले नेपालको सुनचाँदी बजारमा ठूलो समस्या ल्याउने बताउँछन् । ‘नाफा धेरै हुने भएपछि व्यवसायीले नै तस्करीको सुन कारोबार गर्न सक्छन्, सीमा क्षेत्रका स्थानीयहरु नाफा देखेर सुन तस्करीतिर लाग्न सक्छन्’ उनले भने ‘त्यसकारण भारत र नेपालको खुद्रा बजार मूल्य करिब उस्तै हुनेगरी भन्सार दर कायम गर्नुपर्छ ।’ चीन लगायत अन्य मुलुकबाट हुने तस्करीको सुन खपत भएसम्म अब भारतमा नगई यहीं नै प्रयोगमा आउने जोखिम बढेको छ ।

वैधानिक रुपमा आयात हुने सुनको परिमाण समेत घट्दै गएको भन्सार विभागको तथ्यांक छ । विभागका अनुसार गत आर्थिक वर्ष २०८०र८१ मा कुल २ हजार ६५१ किलो सुन भित्रिएको छ ।

जबकि अघिल्लो आर्थिक वर्ष २०७९र८० मा २ हजार ९१६ किलो सुन वैधानिक रुपमा भित्रिएको थियो । आर्थिक वर्ष २०७८र७९ मा ५ हजार ५३ किलो सुन आयात भएको थियो । वैधानिक रुपमा आयातित सुन तीन वर्षमै करिब आधामा खुम्चिनुको प्रमुख कारण नै बर्सेनि बजेटमार्फत भन्सार दर बढाइनु रहेको व्यवसायी बताउँछन् ।
‘नेपालमा सुन खपत घटेर मात्रै आयात घटेको होइन, अवैधानिक सुनले माग धान्न थालेपछि खपत बढेको हो भन्ने विषय बुझ्नुपर्‍यो’ शाक्यले भने ।

अघिल्लो वर्ष पनि सरकारले सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको थियो भने गत बजेटमा १५ बाट २० प्रतिशत पुर्‍याइएको हो । त्यसमाथि नेपाल राष्ट्र बैंकले वैधानिक रुपमा भित्र्याउन पाउने सुनको दैनिक परिमाण गत असोजदेखि १० बाट बढाएर २० किलो पुर्‍याएको थियो । वैधानिक कोटा बढाउँदा समेत आयातित परिमाण घट्नुले तस्करीको सुनले नै माग धानिरहेको संकेत जनाएको छ ।

वाणिज्य बैंकहरुले नेपालमा सुन आयात गरी बिक्रेताहरुलाई बेच्छन् । बिक्रेताले त्यहीं सुनबाट गरगहना बनाएर उपभोक्तालाई बेच्ने हुन् । यहाँ काँचो ९ढिक्का० सुनको कारोबार गर्न पाइँदैन ।

सुनमा नेपाल र भारतको भन्सार दर र यसले पार्ने प्रभावबारे हालका अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर जानकारी गराउने महासंघको तयारी छ । ‘यो विषयमा महासंघले हालका अर्थमन्त्रीलाई पनि ध्यानाकर्षण गराउने छ’ बज्राचार्यले भने । तर यो वर्षका लागि तोकिएको भन्सार दर लागू भइसकेकाले सरकारले यसमा पुनरावलोकन गर्ने संभावना देखिँदैन ।

सरकारले कतै तस्करलाई नै बढावा दिने उद्देश्यले बर्सेनि सुनमा भन्सार दर बढाएको त होइन भन्ने शंका उब्जिएको छ । नेपालमा बजेटले सुनको भन्सार दर बढाउँदा नै तस्करलाई नाफाको दर बढ्न जान्छ । अवैध काममा जति धेरै लाभ मिल्छ, त्यस्ता कार्यमा त्यति नै बढी सोच, सक्रियता, मिलेमतो तथा राज्यकै निकायसँग सेटिङ बढ्न जाने जोखिम रहने शाक्य बताउँछन् ।

विगतमा पनि भन्सारका कर्मचारी, विमानस्थलका सुरक्षाकर्मी तथा माथिल्लो ओहदामा रहेकासँग सेटिङ मिलाएर सुन तस्करी हुने गरेको थियो । महालेखा परीक्षकको कार्यालयले नै आफ्नो ६१औं प्रतिवेदनमा सुनको अवैध पैठारी बढेको र राजस्व घटी असुल हुने एवम् वैदेशिक मुद्राको अपचलन जोखिम बढेको जनाएको छ ।

अर्कोतिर वैदेशिक रोजगारमा गएका युवाले ल्याउने सुनले पनि यहाँको केही माग धान्ने गरेको छ । वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकले आफूसँग ५० ग्रामसम्म सुनका गरगहना ल्याउन पाउने व्यवस्था छ । यहीँ सहुलियत दुरुपयोग गर्दै तस्करले विदेशबाट फर्किने युवालाई समेत प्रयोग गर्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस अनुशासन समितिको चेतावनी : पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउनेमाथि कारबाही

फोहोर व्यवस्थापन बैठकमा सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखबीच चर्काचर्की

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu