काठमाडौं १९ साउन । यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् ।
शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो । उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् ।
त्यस्तै मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाएकी छन् भने मिस नेपाल इन्टरनेशलन २०२४ करुणा रावत बनेकी छन् ।
कार्यक्रममा ११ निर्णायकहरु उपस्थित थिए । जसमा डा. रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य साहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रियंका रानी जोशी, शरद भेषावकर, रियासा दाहाल, विष्णुहरि पाण्डे सकुन भण्डारी छन् ।
सन् १९९४ मा पहिलो मिस नेपाल घोषणा भएकी प्रथम सुन्दरी रूवी राणाले मिस नेपालले ३० औं वर्षको यात्रा पूरा गरेकोमा शुभकामना व्यक्त गरिन् ।
‘३० वर्षअघि यही मञ्चमा मैले मिस नेपालका आयोजकप्रति हजुरहरुको यो यात्रा जारी रहोस् भन्दै सन्देश प्रवाह गरेको थिएँ । हो, साँच्चिनै ३० वर्ष पूर्ण भएको छ,’ प्रथम सुन्दरी राणाले भनिन्, ‘यो यात्रामा मसँगै सम्पूर्ण मिस नेपालहरु जो उपस्थित हुनुहुन्छ, हिडन ट्रेजरप्रति नतमस्तक छु । यो यात्राका दौरान कतिपय अप्ठ्यारा समस्या आए होला, त्यो समस्यासँग जुध्दै हिडन ट्रेजर एउटा रथजस्तै त्यसका पाङ्ग्राहरु नियमित, निरन्तरअघि बढ्दै गयो । र, मजस्ता अनेकौं आत्मनिर्भर महिला दिदीबहिनीहरुलाई गन्तव्य देखाउनुभयो । ३० वर्ष पूरा हुनु भएकोमा हिडन ट्रेजरलगायतलाई धन्यवाद टक्र्याउँदै सन्देश दिन चाहन्छु, यो यात्रा निरन्तर रहोस् ।’
प्रतिक्रिया दिनुहोस्