काठमाडौं ७ भदौं । मुग्लिन–नारायणगढ सडकअन्तर्गत भरतपुर महानगरपालिका–२७ स्थित १७ किलो भन्ने ठाउँमा यात्रु बस दुर्घटनामा परेको छ।
रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बस दुर्घटनामा परेको चितवन प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए।
पोखरातर्फ गइरहेको बसको अगाडिपट्टी ढुंगा खसेको देखेपछि चालक आत्तिएर दुर्घटना भएको प्रहरीले बताएको छ। बसलाई ढुंगाले भने लागेको थिएन।
प्रवक्ता रिजालका अनुसार, बसमा ३३ जना सवार थिए। तीमध्ये २५ जना घाइते भएका छन्।
घाइतेहरूको पुरानो मेडिकल कलेज, नयाँ मेडिकल कलेज र सरकारी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।
बसका चालक भने फरार छन्।
प्रतिक्रिया दिनुहोस्