काठमाडौं, १९ फागुन। संघीय संसदमा एमाले–माओवादीतर्फबाट निर्वाचित सांसदहरुलाई आज प्रशिक्षण दिइने भएको छ । ११ बजे नयाँबानेश्वरस्थित संसद् भवनमा प्रशिक्षण दिन लागिएको एमाले–माओवादीका नेताहरुले जानकारी दिएका छन् । पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा एकरुपता ल्याउन र उपस्थितिलाई परिणाममुखि बनाउन सांसदहरुलाई प्रशिक्षण दिन लागेको गठबन्धन स्रोतले जानकरी दिएको छ । संघीय सांसदहरुको शपथ भोलि आइतवार हुँदैछ ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले संसद् बैठकमा प्रस्तुत हुने तरिका सिकाउन र दुई पार्टीका सांसदहरुको गतिविधिमा एकरुपता ल्याउन एमाले–माओवादीका सांसदहरुलाई आज प्रशिक्षण दिन लागिएको जानकारी दिइन् ।
सांसदहरुलाई एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डका साथै पूर्वसभामुख सुवास नेम्वाङले विशेष सम्बोधनसहित प्रशिक्षण दिने कार्यक्रम छ । समयसामयिक राजनीतिक विषय र एकीकरण प्रक्रियालगायत विषयमा समेत दुई पार्टीका अध्यक्षले जानकारी दिने बताइएको छ ।
एमाले–माओवादीले संघीय संसदका सबै सांसदलाई प्रशिक्षणमा सहभागी हुन सर्कुलर गरेका छन् । प्रशिक्षणमा भाग लिन काम विशेषले उपत्यकाबाहिर रहेका सांसदहरु समेत राजधानी आइपुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्