सुर्खेत, १९ फागुन। कर्णाली प्रदेशले समृद्धिका लागि सुरक्षा अभियान अन्तर्गत “सडक सुरक्षा कार्यक्रम” आज विधिवत् शुभारम्भ गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरसहित १० वटै जिल्लामा एकैसाथ “सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ गरिएको हो । सो कार्यक्रमको उद्घाटन प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभयो ।
सो अवसरमा मुख्यमन्त्री शाहीले मान्छेको जीवन सुरक्षित नभएसम्म कुनै पनि कामको विकास र प्रगति नहुने बताउनुभयो ।
उहाँले यो प्रदेशले आफ्नो समृद्धिका लागि सुरक्षा अभियान अघि बढाएको छ, नागरिकको जीउधनको सुरक्षाको प्रत्याभूति गराउनेछ भन्नुभयो । उहाँले हरेकलाई आफैभित्रबाट साेंच, बानी र संस्कार बदल्न आग्रह गर्नुभयो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समृद्धिको लागि शान्ति सुरक्षा कायम गरेर कर्णाली प्रदेशलाई देशको नमूना प्रदेश बनाउने बताउनुभयो ।
कर्णाली प्रदेशका ग्रामीण भेकमा रहेका ज्येष्ठ नागरिक, असक्त, असाहय र पहुँच भन्दा बाहिर रहेका नागरिकका लागि घरमै पुगेर शान्ति सुरक्षाको सेवा दिने प्रदेश सरकारको योजना रहेको उहाँको भनाइ थियो । उहाँकाअनुसार डिजिटल प्रदेश निर्माणका लागि प्रविधिसँग सुरक्षालाई जोडेर आजबाट यो प्रदेशका २१५ वटै प्रहरी इकाइमा एकैपटक “सडक सुरक्षा कार्यक्रम” शुभारम्भ गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्