काठमाडौं, २० फागुन । संघीय संसदका सांसदको सपथ ग्रहण आज आइतबार हुँदैछ । निर्वाचित भएको तीन महिनापछि आज सांसदले सपथ लिन लागेका छन् । संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण दिउँसो ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण ५ बजे हुने जानकारी दिएको छ ।
प्रतिनिधिसभाका सदस्यहरुलाई ज्येष्ठ सदस्य ८० वर्षीय महेन्द्रराय यादवसँग र राष्ट्रियसभाका सदस्यले राष्ट्रियसभाका ज्येष्ठ सदस्य ६९ वर्षीया तारादेवी भट्टसँग शपथ लिनेछन् । त्यसअघि दुवै सदनका ज्येष्ठ सदस्यले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ ग्रहण गर्ने कार्यक्रम रहेको संघीय संसदका प्रवक्ता भरतराज गौतमले बताउनुभयो।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पहिलो बैठक भोली सोमबारका लागि आह्वान गरेपछि आइतबार सांसदको सपथ ग्रहण हुन लागेको
हो । संघीय संसद सचिवालयले आइतबार हुने सपथ र भोली बस्ने पहिलो बैठकको सबै तयारी पूरा भएको जनाएको छ ।
प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाको अध्यक्षको चुनाव नभएसम्म बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन् । राष्ट्रियसभामा मनोनीत सदस्य डा युवराज खतिवडा, रामनारायण बिडारी र डा विमला पौडेललाई तत्कालका लागि शपथ रोक्न सर्वोच्च अदालतले फागुन १३ गते अन्तरिम आदेश दिएकाले उहाँहरूको शपथ अनिश्चित छ ।
सर्वोच्च अदालतले यो मुद्दामा आइतबार सुनुवाई राखेकाले सपथ ग्रहण सुरु हुनु अगावै सर्वोच्चले सरकारले गरेको राष्ट्रियसभाको मनोनयनलाई कानुनसम्मत ठहर्याए तीनजनाले पनि आइतबार नै सपथ ग्रहण गर्न पाउनेछन् । कैलालीबाट प्रतिनिधिसभा सदस्य रहेका रेशम चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवालका बारेमा कुनै निकायबाट लिखित जानकारी नआएकाले उहाँहरू आएमा शपथ लिन सक्ने संघीय संसद सचिवालयका प्रवक्ता गौतमले बताउनुभयो ।
प्रतिनिधिसभामा २ सय ७५ जना सांसद रहेकोमा रेशम चौधरी पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । त्यस्तै, राष्ट्रियसभाका ५९ सदस्यमध्ये सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका तीनजनाको सपथ हुने नहुने अनिश्चित रहेकाले कम्तिमा ३ सय ३५ जना सांसदको सपथ ग्रहण हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्