काठमाडौं १३ असोज । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा बाढीपहिरोबाट सात जनाको मृत्यु भएको छ।
मेयर रामशरण भण्डारीका अनुसार बेपत्ता रहेका १७ जनामध्ये आइतबार दिउँसोसम्म ७ जनाको शव फेला परेको हो। बाँकी १० जना बेपत्ताको खोजीकार्य जारी रहेको मेयर भण्डारीले नेपालखबरलाई जानकारी दिए।
‘यहाँको अवस्था एकदमै जर्जर छ, हामी क्षतिको थप विवरण संकलन गर्दैछौँ,’ मेयर भण्डारीले नेपालखबरसँग भने, ‘३ वटा स्वास्थ्यचौकी, ७ वटा पक्की पुल र एउटा झोलुङ्गे पुलमा पूर्ण क्षति भएको छ।’
विद्यालयहरूको क्षति विवरणबारे जानकारी लिने क्रममा रहेको उनले बताए। अन्य धनमाल र पशुचौपायको क्षति संकलन गर्न नगरपालिकाबाट टोली खटिएको छ।
बिहीबारदेखि परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित काभ्रे, रामेछाप, धादिङ, सिन्धुपाल्चोक लगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धारको काम जारी राखेको छ।
प्रतिक्रिया दिनुहोस्