काठमाडौं १४ असोज । काभ्रेको तेमाल गाउँपालिका( २ मा पहिरोमा बेपत्ता भएका एकै परिवारका ८ जनाको खोजि कार्य तेस्रो दिनबाट सुरु भएको छ।
शनिबार बिहान १० बजेतिर पहिरोमा परी बेपत्ता भएका माइला तामाङका बुबा–आमा, श्रीमती, भाइबुहारी र भाइका तीनजना छोराछोरीको खोजि सोमबार बिहानबाट भइरहेको हो।
सोमबार बिहान तीन जनाको शव निकालिएको वडाध्यक्ष देवराज तामाङले जानकारी दिए।
अरु दुई जनाको पनि शव माटोले पुरेको अवस्थामा देखिएको छ। ‘उनीहरुको शव निकाल्ने काम पनि भइरहेको छ,’ तामाङले नेपालखबरसँग भने।
माइला तामाङलाई भने त्यही दिन छिमेकीले घटनास्थलबाट उद्धार गरेका थिए।
आइतबार दिउँसो ४ बजेतिर नेपाली सेनाको हेलिकप्टरमार्फत् उनलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। अहिले उनको स्वास्थ्यमा सुधार हुँदै गएको वडाध्यक्ष तामाङले बताए।
बेपत्ता तामाङ परिवारको खोजीका लागि आइतबार अपरान्ह ९ जना सेना र दुई जना प्रहरी पुगेका थिए। उनीहरुले सोमबार घटनास्थल अवलोकन गरे पनि खोजि कार्य भने सोमबार बिहानदेखि मात्रै सुरु भएको हो।
अहिले नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्।
काभ्रेका रोसी लगायतका स्थानमा पनि पहिरोका कारण क्षति पुगेको छ। तेमालमै दुई जनाको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्