ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्चीबाट ल्याइयो दैनिक २२ करोड लिटर पानी, काठमाडौंमा वितरण सुरू


एबीसी न्यूज
२२ आश्विन २०८१, मंगलबार   ८ : ५९   बजे

काठमाडौं २२ असोज । सिन्धुपाल्चोकको हेलम्बुस्थित मेलम्ची नदीबाट पठाएको पानी काठमाडौं आइपुगेको छ।  दैनिक २२ करोड लिटर आउने गरी पानी ल्याइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए।

उनकाअनुसार बर्खायाममा मेलम्चीको बहाव बढी भएकोले दैनिक २२ करोड लिटरभन्दा धेरै पानी ल्याउन सकिनेछ। तथापि अहिले दैनिक २२ करोड लिटर मात्रै पानी पथान्तरण गरिएको छ।

मेलम्चीको पानीलाई सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा हालेर वितरण प्रणालीमा जोडिसकिएको छ। प्रशोधन केन्द्रको क्षमताभन्दा बढी पानी बागमती नदीमा पठाइएको छ।

‘काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी मात्रै प्रशोधन गर्न सक्ने रहेछ, अर्को प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छैन, त्यसैले बढी भएको पानी अहिले बागमती नदीमा बगाइएको छ,’ उनले भने।

उनकाअनुसार मेलम्चीको पानी मंगलबारदेखि काठमाडौंमा वितरण सुरू भइसकेको छ।आन्दोलनरत स्थानीय र हेलम्बु गाउँपालिकासँग सोमबार राति सहमति भएपछि मंगलबारबाटै सुरूङमा पानी हालिएको थियो। स्थानीयवासीले आन्दोलन गर्न थाले पनि मेलम्ची खानेपानी विकास समितिले भित्रभित्रै तयारी भने गरी नै रहेकाले पानी पथान्तरण गर्न छिटो सम्भव भएको हो।

मेलम्चीको पानी काठमाडौंमा अस्थायी तवरले ल्याइएको छ। यसअघिका चार वर्षका हिउँद याममा पनि अस्थायी तवरबाट नै काठमाडौंमा पानी ल्याइएको थियो।

२०७८ असार १, साउन १६ र १७ गतेको भेलबाढीपछि काठमाडौंमा अस्थायी तवरले पानी ल्याउने गरिन्छ। हिउँदयामभरि पानी ल्याउने र बर्खामा सुरूङ बन्द गर्ने गरिएको थियो।

अघिल्लो पटक सुरूङमा लेदो पसेकाले सफा गर्न समय लागेको थियो। यसपटक नदीको बहाव व्यवस्थित गरिएको र सुरूङको मुखमा छेकबार राखिएकाले लेदो पस्न नपाएको कार्यकारी निर्देशक लामिछानेले जानकारी दिए।

मेलम्ची बाढी प्रभावितले राख्दै आएका माग केही तत्काल पूरा गर्ने र केही दीर्घकालीन रूपमा गर्ने गरी सोमबार राति सहमति भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ छ।

मेलम्ची खानेपानीको मुख्य आयोजना तथा भेलबाढी प्रभावित हेलम्बु गाउँपालिकाको प्रत्येक वडाको मूल सडकहरू कालोपत्रेका लागि विशेष प्राथमिकतामा राखी आगामी आर्थिक वर्षको संघीय सरकार तथा प्रदेश सरकारको बजेट कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने सहमति भएको हो।

बाढीले बगाएका मेलम्चीको पुल, चनौटेको रातोपुल, कात्तिके, घट्टेखोला, हल्दे, तिम्बु, नाकोते, तालामाराङ भट्टार, गोरेखोला, सर्कथलीको पुल निर्माण गर्न सम्बन्धित निकायमा पहल गर्ने सहमति भएको छ।

त्यस्तै चिउरी खर्क, ओडारे, तिम्बु, ढोरोसिंह, थापाटार—भाङटार, महांकाल, तारूकेटार, ज्यामिरे, शेराचौकी, पाल्चोक शेरा र ग्याल्थुमबाट पाल्चोक गैरबेसी झोलुङ्गे पुल यथाशीघ्र निर्माणका लागि सम्बन्धित मन्त्रालयमार्फत् विशेष पहल गरी बजेटको व्यवस्था गर्ने सहमति भएको शेर्पाले बताए।

भेलबाढीले क्षति भएका घर तथा व्यवसाय स्थापित भइसकेपछि त्यस्ता घर तथा व्यवसायको बिमाका लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने साथै बाढीबाट पीडित भएका घर परिवारका सदस्यको समेत बिमाको पहल गर्ने सहमति भएको छ।

सरस्वती मावि र मेलम्ची भ्याली क्याम्पसको संरक्षण गर्ने सहमति भएको छ। बाढीपछि उक्त स्कुल र क्याम्पस जोखिममा छन्। अघिल्लो वर्ष पनि क्याम्पसका संरचना बाढीले बगाएको थियो।

दीर्घकालीन यातायातका लागि राजधानीसँग सबैभन्दा छिटो जोड्ने मध्यपहाडी लोकमार्ग, भविष्यमा गएर निर्माण हुने हिमाली लोकमार्ग, मेलम्ची खानेपानीको तीनवटै मुहानहरूमा पुग्न सहज हुने देखिएको हुँदा हेलम्बु—अम्बाथान—याङ्ग्र, साँखु—फट्केश्वर, सुन्दरीजल—हैबुङ सडकलाई बाह्रैमास चल्ने गरी सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ।

हेलम्बु गाउँपालिका वडा नम्बर २ र ४ को वडा कार्यालयहरूको भवन निर्माण गर्न यथाशीघ्र बजेट सुनिश्चितताका लागि सहरी विकास मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ।

हेलम्बु ग्रेट ट्रेललाई आगामी आर्थिक वर्षको बजेटमार्फत् निर्माण कार्यलाई तीव्रता दिनका लागि संघीय पर्यटन मन्त्रालय र प्रदेश पर्यटन मन्त्रालयमार्फत् पहिलो प्राथमिकतामा राखी कार्यान्वयन गर्न विशेष पहल गर्ने सहमति भएको शेर्पाले बताए।

हिउँदको समयमा नदीमा छाड्ने पानी विगतमा दैनिक १७ करोड लिटर पानी पथान्तरण गर्ने भनिएता पनि हाल जलवायु परिवर्तनका कारणले नदीमा पानीको परिमाण घटेको हुनाले खेतीकिसानीका लागि वातावरणीय प्रभाव मूल्याङ्कनमा औंल्याइएको आधारमा आवश्यक पानी छाडेर मात्र काठमाडौं लैजाने सहमति भएको छ। अब अम्थान—याङ्ग्रीको ९ किलोमिटर सुरूङ निर्माण गर्दा सोबाट निस्कने मकिङ ९सुरूङ खन्दा निस्किएको सामग्री०लाई वातावरणीय प्रभाव मूल्याङ्कनमा औंल्याइएको आधारमा व्यवस्थित गर्ने सहमति भएको छ।

हेलम्बु गाउँपालिकाभित्रको ह्याङ्ला आनी आसाङ कृषि सडक स्तरोन्नति गर्ने सहमति भएको छ।

मेलम्ची नदी हेलम्बुबाट पानी पथान्तरणपछि सुन्दरीजलमा प्राप्त हुने पानीको परिमाणको आधारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिक्री गरेबापतको मूल्यको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गराउनुपर्ने स्थानीयको मागमा मन्त्रालय र सरोकारवालाबीच पुनः छलफल गर्ने र तीन महिनाभित्र टुंग्याउने सहमति भएको छ।

मेलम्ची क्षेत्रको पुनर्निर्माणलाई प्राथमिकतामा नराखी पानी पथान्तरण गरेको भन्दै बाढी प्रभावित स्थानीय संघर्षमा उत्रिएका थिए। उनीहरूले बाढीबाट ज्यान गुमाएका हेलम्बु भेगका १४ जनलाई जनही १०—१० लाख, बाढीबाट घरबास गुमाएकालाई आवास निर्माणका तत्काल २०—२० लाख अनुदान दिनुपर्ने लगायतका १७ बुँदे माग राखेर आन्दोलन गरिरहेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu