काठमाडौं १ कार्तिक । मुग्लिङ–नारायणघाट सडकखण्डको रिद्दिखोलामा स्थानीयलाई ठक्कर दिएर भागेका कार चालकलाई प्रहरीले मुग्लिङमा पक्राउ गरेको छ।
चितवनको इच्छाकामना गाउँपालिका ६ रिद्दिखोला बस्ने ४५ वर्षीय देवबहादुर गुरुङलाई बुधबार बेलुका सडक छेउमा लडिरहेको अवस्थामा फेला परेका थिए।
कारको ठक्करबाट टाउको, हात र खुट्टामा गम्भीर चोट लागेको अवस्थामा फेला परेका उनलाई उपचारका लागि भरतपुर सरकारी अस्पताल लगिएको थियो।
यसरी यात्रुलाई ठक्कर दिएर सवारी भागेको सूचनापछि प्रहरीले जुगेडी, मुग्लिङ, कुरिनटार र फिस्लिङमा सवारी साधान रोकेर चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ठक्कर दिने ग१च ६२१५ नम्बरको कार र चालक पोखरा महानगरपालिका १४ बस्ने ४९ वर्षीय ओमबहादुर थापालाई बेलुका सवा ९ बजे प्रहरीले पक्राउ गरेको छ।
उनलाई इलाका प्रहरी कार्यालय मुग्लिङमा राखिएको छ। यता घाइतेको बेलुका १० ः ३५ बजे मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस्