काठमाडौं १६ कात्तिक । गएको असोज महिनामा तीन अर्ब ४५ करोड ६३ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । स्वचालित प्रणाालीबाट २१ वटा उद्योगमा १५ करोड १० लाख रूपैयाँ र म्यानुअल प्रणालीबाट ३४ वटा उद्योगमा ३ अर्ब ३० करोड ५३ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।
विभागले गएको वैशाखमा आयोजित तेस्रो लगानी सम्मेलनदेखि अटोमेटिक रुटमार्फत विदेशी लगानी प्रतिबद्धता स्वीकृत गर्न थालेको हो । असोजमा पर्यटन क्षेत्रमा ६४ प्रतिशत, सेवा क्षेत्रमा २४ प्रतिशत, उत्पादन क्षेत्रमा ७ प्रतिशत, कृषिमा ४ प्रतिशत र सूचना तथा प्रविधि क्षेत्रमा १ प्रतिशतलगानी प्रतिबद्धता आएको छ ।
योसहित चालु आर्थिक वर्षको तीन महिना साउन, भदौ र असोजमा १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
अघिल्लो आर्थिक बर्ष नेपालमा ६१ अर्ब ९० करोड ४५ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । तर खुद विदेशी लगानी ८ अर्ब ४० करोड ७ लाख रूपैयाँ मात्रै भित्रिएको विभागले जनाएको छ । प्रतिबद्धता तथा स्वीकृत रकम पटक पटक गरेर भित्रिने र कतिपय नभित्रिने अबस्था पनि रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्