काठमाडौं १० मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले सहकारी ठगी प्रकरणमा रवि लामिछाने निर्दोष प्रमाणित भएमा नेपालमा भ्रष्टाचार लिगल हुने टिप्पणी गरेका छन् । हिजो आइतबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी प्रकरणमा लामिछाने निर्दोष सावित हुने आधार नै नरहेको बताएका हुन् ।
‘यदि रवि लामिछाने निर्दोष प्रमाणित भएभने यो देशमा भ्रष्टाचार भन्ने कुरा लिगल हुन्छ ।
भ्रष्टाचारविरुद्धको जो असल अभियन्ता हुनुहुन्छ, उहाँहरुले यो देशमा भ्रष्टाचार सखाप पार्ने हो भने रवि लामिछानेमाथि लागेको जुन दोष छ, यो लगभग दोषी हुने नै देखिन्छ । तर, यो कुरा वकिलहरुले बहस गर्ने कुरा हो ।’ निश्काशित महामन्त्री ढकालले भने, ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई म पूर्ण रुपमा सम्मान गर्छु । तर, मेरो एउटा प्रश्न रहन्छ– घुस्याहा कर्मचारीहरुले आफ्नो श्रीमती वा श्रीमानको नाममा कम्पनी खोलेर घुस त्यसमा पठाउन लगाएर कसले हाल्दियो पैसा, मलाई थाहा छैन भनेर भन्यो भने चाहीँ के भन्ने मेरो प्रश्न रहन्छ । सम्मानित न्यायाधीशहरुलाई सोध्न मिल्छ भने त्यो बेला म सोधौंला ।’
साथै, लामिछानेले मनलाग्दी रुपमा अमेरिकी र नेपाली पासपोर्ट प्रयोग गरेको उनले दाबी गरे । आफूसँग रहेको प्रमाण सार्वजनिक गरे । लामिछानेलाई आफूबाहेक कसैले पनि नचिन्ने दाबी गर्दै उनले उनको आत्मविश्वास सकिइसकेको बताए । लामिछाने बाघ नभएर अहिले विरालोजस्तो भइरहेको उनको टिप्पणी छ । राष्ट्रिय राजनीतिमा रवि लामिछानेको च्याप्टर नै क्लोज भइसकेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्