काठमाडौं १२ मंसिर । नेकपा माओवादी केन्द्रले मानव तस्करीमा जोडिएको आरोप लागेका कोशीका पूर्वमन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।
पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको पार्टी पदाधिकारी बैठकले भ्रष्टाचारीको संरक्षण गरेको भन्दै स्थानीय तहको उपनिर्वाचनपछि सरकारविरुद्ध खबरदारीमा जाने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
‘यो अहिलेको सरकारले मानव तस्करीजस्तो गम्भीर प्रकरणमा मुछिएका व्यक्तिलाई उन्मुक्ति दिने काम गरेको छ, यसमा हाम्रो घोर आपत्ति छ’ प्रवक्ता सापकोटाले भने, ‘मानव तस्करी प्रकरणमा अधिकारीलाई उन्मुक्ति दिने र अन्यलाई मुद्दा चलाउने काम घोर आपत्तिजनक रहेको निष्कर्ष बैठकले निकालेको छ ।’
बैठकले स्थानीय तहमा एकैसाथ पालिका सम्मेलन गर्ने कार्यविधि तयार गरेको छ । बैठकले निर्वाचन आयोगमा पेश गर्न तीन महलेसँगै समग्र सम्पादन गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्