काठमाडौं २५ मंसिर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले आफ्ना गलत गतिविधि नसच्याए सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो चेतावनी दिएका हुन् ।
सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै उनले यस्ता गतिविधि नरोकिए संसद्को विशेष अधिवेशन बोलाउने र लाखौं जनता सडकमा ल्याएर सदन र सडकबाट आन्दोलन अघि बढाउने चेतावनी दिए ।
राम्रो बन्दै गरेको विद्युत् प्राधिकरण, मेरिटोक्रेसीमार्फत सुधारको बाटोमा अघि बढेको त्रिभुवन विश्वविद्यालय आदिमा प्रहार गरेर सरकारले अराजकता निम्त्याउन खोजेको उल्लेख गर्दै अध्यक्ष दाहालले यस्ता हर्कत स्वीकार्य नहुने बताए । देशभरका हजारौं सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस एमालेकै नेताहरूको बाहुल्यता भए पनि उनीहरुलाई बचाउन केन्द्रित रहेको उनको भनाइ छ ।
रास्वपा सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको समेत अध्यक्ष दाहालले दोहोर्याए । तपाईं हामी सबैलाई चासो हुनेलाई थाहा छ अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरू नै ठूला सहकारी ठग छन् । तिनै नाटकबाजहरूलाई बचाउन सरकार केन्द्रित छ । उनीहरूलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ, उनले भने ।
लामिछानेलाई आफैंले प्रधानमन्त्री प्रस्ताव गरेका पार्टीले अहिले पूर्वाग्रहपूर्ण प्रतिशोध साधेको समेत अध्यक्ष दाहालको भनाइ छ । रवि र राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेले भनेको स्वीकार नगरेको कारण राजनितिक प्रतिशोधको व्यवहार देखाएको जोकसैले बुझ्नसक्छ, उनले भने । आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारी पक्राउ गर्ने क्रम बढाउदै जाँदा बिचौलियाहरूले संसद्का पहिलो र दोस्रो पार्टी मिलाएर सरकार बनाएको पनि उनले स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्