काठमाडौं २५ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीबाट हट्दै गर्दा आफूलाई केही मिडियाले खुबै लखेटेको आरोप लगाएका छन् । मंगलबार दिउँसो भरतपुर चौबिसकोठीमा भएको खबरदारीसभामा बोल्दै उनले भने, ‘प्रधानमन्त्री छोड्दै गर्दा मलाई खुब लखेटियो मिडियाहरुमा,’ उनले थपे, ‘सप्पै मिडियामा हैन है फेरि यहाँ मिडियाकर्मी रिसाउनु होला ।
ठूला भनिएका घरानावालाहरुले प्रचण्डको युग सकियो, प्रचण्डको अवसान भयो, अब प्रचण्ड फेरि कहिल्यै उभिन सक्दैन भनेर लेखे । तपाईंहरुले हेर्नु भएकै होला ।’
माओवादी सिद्धियो भनेर निकै भने पनि हालै सम्पन्न पालिकाहरुको उपचुनावको नतिजाले आफ्नो पार्टी पहिलो भएको उनले दाबी गरे । ‘हुन त दोस्रो भएको हो भन्ने भाष्य बनाइएको छ तर पहिलो भएको हो,’ उनले भने ।
चितवन–२ का सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का केन्द्रीय सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि दाहाल दोस्रो पटक चितवन आएका हुन् । रवि समातिएको भोलिपल्टै कात्तिक ३ मा भरतपुर–१३ चम्पानगरमा आयोजित सभामा बोल्दा दाहालले रविबारे केही पनि बोलेका थिएनन् । मंगलबार उनले रविको पक्षमा लामै समय खर्चिए । यो बीचमा प्रहरीले रवि लामिछानेलाई बयानका लागि अघिल्लो मंगलबार भरतपुर ल्याएर दुई दिनको बयानपछि मध्यरातमा पोखरा फर्काएको थियो । मध्यरातमा लामिछानेलाई भरतपुरबाट पोखरा लगेको विषयमा अहिले सत्तारुढ दल कांग्रेसका नेता शेखर कोइरालादेखि प्रतिपक्षका विभिन्न नेताहरुले विरोध गरिरहेका छन् । दाहालले लामिछानेसँग सरकार तर्सेको टिप्पणी गरे ।
उनले सरकार र सरकारमा सामेल पार्टीका नेताहरुलाई रवि लामिछानेलाई हिरासतमा किन राख्नु पर्यो, हाजिरी जमानीमा छोडिदिए भइहाल्यो नि, जे जे जाँच गर्नु छ गरे हुन्छ नि भनेको पनि बताए । ‘त्यो रवि लामिछानेसँग यति धेरै तर्सनु पर्ने, भनेपछि कांग्रेस(एमाले कति कमजोर रहेछन्,’ दाहालले भने । सरकारले यी विषयमा अझै ज्यादती, अझै अत्याचार गरिराख्छ भने दलहरुले सदन र सडकबाट प्रतिवाद गर्ने उनले चेतावनी दिए ।
‘वैधानिक रुपले संसद्को विशेष अधिवेशन बोलाएर त्यहाँबाट नयाँ लडाइँ सुरु गर्ने छौं । हाम्रो खबरदारीबाट सरकारले चेतेन, भ्रष्टाचारीलाई बचाउने र निर्दोषलाई फसाउने काममा लागे सबै विपक्षी र सत्तापक्षको एउटा ठूलो पक्षसहित काठमाडौंमा लाखौं जनताको विरोध प्रदर्शन गर्ने छौं,’ दाहालले भने ।
उनले चीन सरकारसँग गत वर्ष नै आफूले गरेका सहमतिलाई फोटोकपी गरेर केपी ओलीले मैले गरेको हुँ भनेर प्रचार गरेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्