काठमाडौं ४ माघ । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीलाई फिर्ता ल्याउन इजरायल पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितको ओहोदाको प्रमाणपत्र बुझेपछि भएको शिष्टाचार भेटमा उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
इजरायलको तेल अभिभमा रहेको नेपाली दूतावासका अनुसार राष्ट्रपति हर्जोगले विशेष गरी इजरायल सरकार विपिनसँगै सबै बन्धकहरूलाई फिर्ता ल्याउन पूर्णरूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको हो । भेटमा राजदूत पण्डितले विपिनको रिहाइका लागि नेपाल सरकारले गर्दै आएको प्रयासका बारेमा जानकारी गराउनुभएको थियो ।
इजरायल र प्यालेस्टाइनको हमास समूहबीच भएको युद्धविराम सम्झौताअनुसार पर्सि आइतवारदेखि दुवैको नियन्त्रणमा रहेका बन्दी छुट्दैछन् । सम्झौताअनुसार शुरुमा छुट्ने ३४ जनाको सूचीमा थपिएर नेपाली विद्यार्थी विपिन पनि मुक्त हुन सक्ने र आइतवार छुट्ने सूचीमा नपरे त्यसको १६औँ दिनमा जोशी छुट्ने सरकारको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्