काठमाडौं, ११ माघ । काभ्रेको महाभारत जङ्गलमा लागेको आगो निभाउन हेलिकोप्टरको प्रयोग गरे पनि अझै निभेको छैन ।गृह मन्त्रालयले पठाएको हेलिकोप्टरमार्फत हिजो २४ हजार लिटर पानी आगोलागी भएको क्षेत्रमा खन्याउँदा पनि आगो नियन्त्रणमा आउन नसकेको हो । अहिले पनि जङ्गलमा आगो बलिरहेको छ ।
बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बस्ती नजिक रहेको रमितेडाँडा, ज्वानेथुम्कोलगायतका क्षेत्रमा भने आगो नियन्त्रण भएको बताउनुभयो । गएको मङ्गलवार दिउँसो डढेलो शुरू भएको हो ।
अध्यक्ष अधिकारीले महाभारतको घना जङ्गलमा डढेलो लागेकाले यसको नियन्त्रण गर्न कठिनाइ भएकाले मन्त्रालयबाट हेलिकप्टरको सहायता मागिएको बताउनुभयो । उहाँका अनुसार वडा नम्बर २ गुवाभञ्ज्याङ पार्कमा निर्माण गरिएको पोखरीबाट पानी बोकेर हेलिकप्टरले महाभारतको सेतीभिर क्षेत्रको जङ्गलमा लागेको डढेलोमा खन्याइएको हो ।
डिभिजन वन कार्यालय काभ्रेका अनुसार एक सय हेक्टर क्षेत्रफलमा आगो फैलिएको छ । बेचानचोक र महाभारत गाउँपालिकाको सीमामा रहेको महाभारत जङ्गलमा फैलिएको डढेलोले अरु वन क्षेत्रसमेत जोखिममा रहेको भन्दै बेथानचोक गाउँपालिकाले पर्यटकलाई वन क्षेत्रमा जान रोक लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्