काठमाडौं १५ माघ । भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात हुने भएको छ । देशभित्र माग अनुसार गहुँको उत्पादन हुन नसकेपछि छिमेकी भारतबाट आयात गर्न लागिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत सरकारसँग दुई लाख मेट्रिक टन गहुँको माग गरेकोमा भारतले नेपाललाई ९० हजार मेट्रिक टन उपलब्ध गराउने सहमति जनाएको थियो । त्यस अनुसार गहुँ आयात गर्नका लागि आवेदन माग गरिएको छ ।
नेपालमा झण्डै २१ लाख मेट्रिक टन गहुँ उत्पादन हुने गरेको छ । यो उत्पादनले माग धान्न पुग्दैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९र८० मा ६ लाख ९७ हजार ७ सय ६२ हेक्टर क्षेत्रफलमा २० लाख ९८ हजार ४ सय ६२ मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात गर्न इच्छुक फर्म र कम्पनीका लागि आवेदन माग गरेको हो ।
गहुँ आयातका लागि इच्छुक फर्म वा कम्पनीले न्यूनतम एक सय मेट्रिक टनदेखि १० हजार मेट्रिक टन गहुँको परिणाम खुलाई सात दिनभित्र विभागमा आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्