काठमाडौं १५ माघ । काभ्रेको दक्षिणी क्षेत्रमा रहेको महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा लागेको डढेलो निभेको छ ।
खानीखोला गाउँपालिका–१ मा रहेको थामलेख डाँडाको महाभारत जङ्गलबाट शुरू भएको आगलागी हिजो दिउँसोदेखि नियन्त्रण आएको डिभिजन वन कार्यालय धुलिखेलले जनाएको छ ।
डढेलो बेथानचोक गाउँपालिकाको महाभारत क्षेत्र तर्फसमेत फैलिएपछि बस्ती जोगाउने उद्देश्यका साथ गएको शुक्रवार हेलिप्टरबाट रमितेडाँडा र ज्वानेथुम्काको आगो निभाइएको थियो ।
कार्यालयका अधिकृत चिनिकाजी श्रेष्ठले हेलिकप्टरसँगै सुरक्षाकर्मी तथा स्थानीयवासीको सक्रियतामा वनमा लागेको डढेलो र आगो नियन्त्रणमा आएको जानकारी दिनुभयो ।
खानीखोला र बेथानचोक गाउँपालिकाका पाँच सामुदायिक वनको झण्डै एक सय हेक्टर वन डढेलोबाट धेरै क्षति भएको अनुमान छ ।
श्रेष्ठका अनुसार थामलेकको चिसापानी सामुदायिक वन, मूलडाँडा चोरण्डे सामुदायिक वन, जनजागृति सामुदायिक वन, बेथानचोक नारायणस्थान सामुदायिक वन तथा नारायणस्थान सामुदायिक वनमा क्षति धेरै छ ।
यसैबीच, पर्यटकीय क्षेत्र बेथानचोक नारायणस्थानमा गएको बुधवारदेखि आवतजावतमा रोक लगाइएकोमा हिजोदेखि खुला गरिएको छ ।
आगलागी नियन्त्रणमा आएसँगै यो क्षेत्रमा जान खुला गरिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्