प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको आजको बैठकमा अध्यादेश निर्णयार्थ पेस नहुने भएको छ। राष्ट्रियसभामा निर्णायक रहेका जनता समाजवादी पार्टी, नेपालसँग सहमतिको लागि सरकारले समय मागेको भन्दै दुवै सदनको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश निर्णयार्थ पेस गर्ने सूची हटाउने भएका हुन्।
अध्यादेश निर्णयार्थ पेस नगर्न कानुनमन्त्री अजयकुमार चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई आग्रह गरेका थिए।
सरकारले माघ १८ गते दुवै सदनमा ६ वटा अध्यादेश पेस गरेको थियो। प्रतिनिधिसभामा अध्यादेश अस्वीकृतको ५० बढी प्रस्ताव दर्ता गरेका छन्।
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा अध्यादेश आज निर्णयार्थ पेस गर्ने कार्यसूची नराख्न कानुनमन्त्री अजय चौरसियाले आग्रह गरेका थिए।
अध्यादेशका स्वीकार गर्न लागि प्रतिनिधि सभामा कांग्रेस र एमालेको मात्रै पनि बहुमत पुग्छ। तर राष्ट्रियसभामा जसपा नेपालका तीन सांसद निर्णायक छन्।
सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग अध्यादेशको पक्षमा उभिन निरन्तर छलफल गरिरहेका छन्। जसपा नेपालले पनि अध्यादेश अध्ययन गर्न नेता राजकिशोर यादवको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको थियो। कार्यदलले अध्यक्ष यादवलाई बिहीबार बिहान प्रतिवेदन बुझाइसकेको छ।
प्रतिक्रिया दिनुहोस्