काठमाडौं १५ चैत । काठमाण्डौ उपत्यकाका सडकमा बिहानपख गाडीको आवतजावत सामान्य छ । बिहानपख कहीँ कतै अवरोध नभएको ट्राफिक प्रहरीले जनाएको छ । तर दिउँसो १२ बजेपछि ठाउँठाउँबाट जुलुस निकाल्ने तयारी भएकाले सडकमा अवरोध हुन सक्ने सम्भावना छ ।
आज समाजवादी मोर्चा र राजावादीहरुको छुट्टाछुट्टै प्रदर्शन गर्न लागेका छन् । काठमाण्डौ प्रशासनले मोर्चालाई भृकुटीमण्डप र राजवादीलाई तीनकुनेमा सभा गर्न अनुमति दिएको छ ।
बिहान एसईई भएकाले दिउँसो १२ बजेपछि मात्रै प्रदर्शन गर्ने दुवै समूहको तयारी छ । समाजवादी मोर्चाले मध्याह्न १२ बजेदेखि र्याली शुरू गर्ने र १ बजे भृकुटीमण्डपमा सभा गर्ने जनाएको छ । मोर्चामा आबद्ध दलले छुट्टाछुट्टै ठाउँबाट र्याली निकाल्दैछन् ।
माओवादी केन्द्रले माइतीघर, कुपन्डोल र त्रिपुरेश्वरबाट तथा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सुन्धाराबाट र्याली निकाल्दैछ । नेपाल समाजवादी पार्टीले न्युरोड गेटबाट र एकीकृत समाजवादीले शान्तिबाटिका र मैतीदेवीबाट र्याली निकाल्ने तयारी गरेका छन् ।
चारवटै दलले फरक–फरक ठाउँबाट निकालेको र्याली भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजे सभा शुरू हुने नेताहरुले बताएका छन् ।
यस्तै राजावादीहरुले सिनामंगल र भक्तपुरबाट र्याली निकालेर तीनकुनेमा सभा गर्ने तयारी छ । दुई समूहले ठाउँठाउँमा प्रदर्शन र सभा गर्ने भएकाले काठमाण्डौको ट्राफिक व्यवस्थापन चुनौती हुने देखिएको छ ।
राजावादीहरुको जुलुस चक्रपथभित्र प्रवेश गर्न नदिने र समाजवादी मोर्चाको जुलुसलाई चक्रपथभित्र केन्द्रित गर्ने गरी सुरक्षा रणनीति बनाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्