काठमाडौं, २२ चैत्र । तत्कालीन गण्डकी अञ्चलको शान्ति, सुरक्षाका लागि २०६१ चैत २१ गते कालिका गणको स्थापना भयो । सशस्त्र प्रहरी बल कालिका गणको नाममा स्थापित भई २०७५ सालमा सशस्त्र प्रहरी बल, नेपाल नं २४ गण हेडक्वार्टर कालिका कास्की नामाकरण भई अहिले पनि विपद् व्यावस्थापन र शान्ति सुरक्षामा तल्लीन छ । अहिले यसको कार्य क्षेत्र कास्की छ ।
कालिका गण बिहीबारदेखि २१ वर्ष लागेको छ । गणले स्थापना दिवस भव्य रुपले मनाएको छ । कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक कुलबहादुर नेम्वाङले कालिका गणबाट पर्यटनको राजधानी पोखरामा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षा सेवा प्रदान गर्दै आएकोमा थप ऊर्जाशिल भई अगाडि बढ्न निर्देशन दिए ।
फेवातालमा फेवा रेस्क्यु टावरमा स्थायी रुपमा परिचालित यो गणको विपद् उद्दार टोलीले विभिन्न समयमा गरेको उद्धार कार्य उल्लेखनीय रहेकाले त्यसको निरन्तरताका लागि उनले आग्रह गरे । देश प्रेम र राष्ट्रभक्तिका लागि विचलित नभई आफ्नो ऊर्जा र क्षमताको अधिकतम प्रयोग गरी अगाडि बढ्नका लागि उनले निर्देशन छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले कास्कीका सशस्त्र प्रहरीले उल्लेखनीय कार्य गर्दै आएकाले त्यसलाई निरन्तरता दिन आग्रह गरे ।
सशस्त्र प्रहरी बल, नेपाल नं २४ गण हेडक्वार्टर कालिका कास्कीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सिनाले आगामी दिनमा गणबाट अझै रचनात्मक काम गर्दै जाने प्रतिवद्धता जनाए ।
स्थापना दिवसका अवसरमा गणमा रही उत्कृष्ट कार्य गरेकोमा देवराज थापा, उषा गुरुङ, यमबहादुर आलेमगर, ओमकार थापा, लोकबहादुर साहु, सन्तोष उपाध्याय, जितबहादुर गुरुङ, माधव परियार, सन्तोष श्रेष्ठ, महेशसिंह भाट, सुनत घम, घनश्याम पराजुली र विश्वराज त्रिपाठीलाई नगद १ हजारसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।
यस्तै वातावरण संरक्षणमा टेपा पुऱ्याएको भन्दै वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक रामबहादुर थापा, गणको प्रशासनिक तथा बन्दोबस्ती क्षमता अभिवृद्धिमा टेवा पुऱ्याएको भन्दै मादी गाउँपालिकाका प्रमुख देवीजंग गुरुङ, रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा, पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल, पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापा र पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङलाई कदरपत्रसहित सम्मान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्