काठमाडौं, ९ चैत । पार्टी कार्यालय सानेपामा शुक्रबारबाट जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा शीर्ष तीन नेताले आफ्नो धारणा राखेका छन्। बैठकमा पूर्वमहामन्त्रीहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र नेता नारयण खड्काले आफ्नो धारणा राखेका छन्।
उनीहरुले अहिले पार्टीमा देखिएका कमजोरी र अबका दिनमा पार्टीले चाल्नु पर्ने कदममा नेतृत्वले खेल्नु पर्ने भूमिकाका विषयमा आफ्ना धारणा राखेका छन्।
पूर्व महामन्त्री कृष्ण सिटौलाले शीघ्र महाधिवेशनको माग गर्दै नेतृत्वको स्वेच्छाचारी, अपारदर्शी र सामान्तवादी व्यवहारका कारण कांग्रेसले चुनाव हारेको विश्लेषण गरे ।
उनले चुनावको समयमा स्पष्ट नीति, आगामी कार्यदिशा र योजना दिन नसकेको दाबी गर्दै गल्ती स्वीकार्नको लागि आग्रह गरे। उनले चुनावको समयमा कोसँग तालमेल गरियो र किन गरियो भन्ने कारण दिन नसक्दा पनि हारलाई सहयोग पुगेको बताए। ‘हामीले विभिन्न ठाँउमा तालेमेल गरेका थियौ, हामीले सहयोग गर्ने हामीलाई सहयोग नगर्ने अवस्था कसरी आयो’ नेता सिटौलाले भने।
तत्कालीन सभापति सुशील कोइरालाले प्रधानमन्त्री उम्मेदवार बनाउनेदेखि नाकाबन्दीको विरोध, आईजीपी प्रकरण, लोकतान्त्रिक गठबन्धन लगायतका विषयमा आफूले समयमै नेतृत्वलाई सचेत गराएपनि सुनुवाई नभएको उनले बताए ।
देउवाले एकलौटी ढंगले निर्णय गर्नुका साथै टिकट वितरणमा मनोमानी गरेको उनको आरोप छ ।
त्यस्तै अर्का पूर्वमहामन्त्री प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको पहिलो सरकार गिराउनुनै कांग्रेसको भूल भएको बताए। उनले कांग्रेसमा वैचारिक विचलन र विचारको अपव्याख्या भएको बताउँदै त्यसलाई सुधार गर्नुपर्ने बताए।
उनले वैचारिक एवम् सांगठनिक आधार, पार्टी नेतृत्व एवम केन्द्रीय कार्यसमिति र नेतृत्वमा रहनेहरूको क्षमता, दक्षता र कार्य कुशलता, समग्र निर्वाचनको व्यवस्थापकीय पक्ष सबैलाई एकमुष्टसँग केलाएर पार्टी पराजयको समीक्षा गर्नुपर्ने बताए।
उनले सामान्य सुधार वा टालटुल गर्ने प्रवृत्तिले मात्र कांग्रेसलाई पुनःस्थपित गर्न संभव नहुने उल्लेख गर्दै यसका लागि गम्भीरतापूर्वक कार्य गर्नुपर्ने बताए।
उनले आफ्नो वक्तव्यमा सभापति शेरबहादुर देउवाप्रति कडा आलोचना गर्दै उनको नेतृत्वमा कांग्रेस इतिहासमै कमजोर भएको आरोप पनि लगाए।
केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. नारायण खड्काले अब कांग्रेसलाई राम्रो बनान गुटको राजनीति छोड्नु पर्ने बताउँदै त्यसको नेतृत्व पार्टी सभापतिले लिनुपर्ने बताए। गुटरहित कांग्रेसको अभियान चाल्न सभापति देउवासँग खड्काले आग्रह गरे। ‘कमजोरहरुले मात्रै गुट उपगुटको राजनीति गर्ने हो। अब कांग्रेस गुटरहिन बन्नुपर्छ, त्यस अभियानको नेतृत्व सभापतिले लिनुपर्छु’, नेता खड्काले भने।
प्रतिक्रिया दिनुहोस्