मोरङ, २४ चैत । विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापा ११ लाई १–० गोल अन्तरले हराउँदै विभागीय टिम त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
उपाधिका लागि आर्मीले आउँदो सोमबार संकटा क्लब र थ्रीस्टारबीचको विजेतासंग फाइनल प्रतिष्पर्धा गर्नु पर्ने छ । आर्मीको जितमा विमल पाण्डे नायक बने । ६८ औं मिनेटमा भरत खवासले प्रहार गरेको कर्नरलाई हेडमार्फत वायाँ बार च्याप्दै पाण्डेले पोष्टको दिशा दिँदा झापा दबाबमा पर्यो । दर्शकको भारी समर्थन पाएको झापाले ४२ औं मिनेटमा गोरक्षक मनोज प्रधानका ठाउँमा किरण चेम्जोङलाई मैदानमा लगे पनि उनले आर्मीको प्रहार रोक्न सकेनन् ।
क्वार्टरफाइनलमा आर्मी अर्को विभागीय टिम नेपाल पुलिस क्लब र झापा छिमेकी टिम रिजालको मोरङ–११ लाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका थिए । विपक्षीको तुलनामा उत्कृष्ट प्रद्धर्शन गरे पनि तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको झापा सिजनमा आर्मीसँग तेस्रो हार बेहोर्न बाध्य भयो ।
झापाले यसअघि घरेलु मैदानमा आर्मीसंग तेस्रो झापा गोल्डकपको फाइनलमा सडन डेथमा पराजय बेहोरेको थियो । त्यस्तै शिव सताक्षी गोल्डकपमा पनि सेमिफाइनलमा ३–० गोल अन्तरले आर्मीसँग झापा पछि परेको थियो ।
प्रतिक्रिया दिनुहोस्