काठमाडौं । नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवार अन्तिम चरणमा छनोट भएका छन्।
अर्थ मन्त्रालयअन्तर्गत गठित कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले शैक्षिक योग्यता, कार्यअनुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्यांकनपछि पाँच जनालाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट गरेको हो।
अन्तिम चरणमा पुगेका उम्मेदवारहरूमा:
- अर्जुनकुमार गौतम,
- गोपाल घिमिरे,
- पर्वतकुमार कार्की,
- यज्ञप्रकाश न्यौपाने,
- समता पन्त भट्ट रहेका छन्।
समितिका अनुसार अब छनोट भएका उम्मेदवारहरूले अर्थ मन्त्रालयमा आफ्नो व्यावसायिक तथा वित्तीय कार्ययोजना (Business Plan) प्रस्तुत गर्नेछन्। त्यसपछि हुने अन्तर्वार्ताको मूल्यांकनका आधारमा समिति सरकारले नियुक्तिका लागि उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्नेछ।
यसपटकको प्रतिस्पर्धामा पूर्व कार्यकारी निर्देशक पर्वतकुमार कार्की विशेष चर्चामा रहेका छन्। यसअघि नागरिक लगानी कोषको नेतृत्व सम्हाल्दा उनले दीर्घकालीन बचत तथा पेन्सनसम्बन्धी योजनाको विस्तार, संस्थागत सुधार र कोषको सेवा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मूल्यांकन गरिएको छ।
अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेपछि प्राप्त आवेदनहरूको प्रारम्भिक मूल्यांकनबाट यी पाँच जना अन्तिम चरणका लागि छनोट भएका हुन्।
अब प्रस्तुतीकरण र अन्तर्वार्तापछि छनोट तथा सिफारिस समितिले सरकारसमक्ष योग्य उम्मेदवारको नाम सिफारिस गर्नेछ। सोही सिफारिसका आधारमा सरकारले नागरिक लगानी कोषको नयाँ कार्यकारी निर्देशक नियुक्त गर्नेछ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्