पाँचथर,२६ चैत। सदरमुकाम फिदिममा भैरहेको दोस्रो वाइवाइ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लबलाई पराजित गर्दै रेडहर्ष क्लब इलाम सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिदिम माविको खेल मैदानमा आज सम्पन्न खेलमा मोरङलाई २–१ गोल अन्तरले पराजित गर्दै इलाम सेमिफाइनल पुगेको हो । इलामका लागि खेलको १६ औँ मिनेटमा मनिष थापा र ८४ औँ मिनेटमा सुवास राईले गोल गरे । मोरङका लागि वीरेन्द्र लिम्बूले पहिलो हाफको १८ औँ मिनेटमा गोल गरे पनि त्यो जीतका लागि पर्याप्त भएन । मोरङका क्याप्टेन विक्रम लिम्बूले ३४ औँ मिनेटमा विपक्षी खेलाडीलाई फल गरेर रातो कार्ड पाएपछि मैदान बाहिरिएका थिए ।
‘म्यान अफ द म्याच’ मोरङका गोलकिपर छिरिङ तामाङ घोषित हुँदै रु पाँच हजार प्राप्त गरे । मंगलबार जावलाखेल युथ क्लब ललितपुर र सुनसरी–११ बीच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल आगामी वैशाख २ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस्