भक्तपुर, २७ चैत । परम्परागतरुप भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजजमंगलबारबाट सुरु हुँदैछ ।
उक्त जात्रामा हुने हुलदगां तथा अराजक क्रियाकलाप रोक्न १३ सय जना नेपाल प्रहरी परिचालन गरिएको छ । जात्रालाई शान्तिपूर्ण बनाउन स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार जात्रा हुने ३४ स्थानमा सिसी टिभी क्यामरा समेत जडान गरि निगरानीको व्यवस्था मिलाइएको छ । जात्रा अवधिभर भक्तपुरमा मदिरा बिक्री वितरणमा रोकसमेत लगाइएको छ ।
तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर बिस्केट जात्रा शुरु हुन्छ । यो जात्रा आगामी बैशाख ५ गते गहिटी पुर्याएर सम्पन्न हुन्छ ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले झगडा गर्ने एवं ढुंगा हान्नेलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही गर्ने बताए ।
बिस्केट जात्राको रथ तान्ने क्रममा पाँचतले मन्दिर तल र माथिका बासिन्दाबीच हरेक वर्ष ढुंगा हानाहान हुने र झडप हुने गर्दछ । जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आग्रहसहित सोमबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सदभाव र्याली निकालिएको थियो ।
प्रतिक्रिया दिनुहोस्