ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरु हुँदै फुटबल महाकुम्भ


एबीसी न्यूज
२८ जेष्ठ २०८३, बिहिबार   ९ : ०१   बजे

काठमाडौं, २८ जेठ । लोकप्रियताका हिसाबले विश्वकप फुटबल सबभन्दा ठुलो खेल आयोजना हो । प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदै छ । यस पटक विश्वको कुल जनसङ्ख्यामध्ये ५८ प्रतिशतले विश्वकप हेर्ने अनुमान गरिएको छ ।
काठमाडौँ, जेठ २८ गते । विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ बिहीबार मध्यराति सुरु हुँदै छ । अहिले विश्वकपको ज्वरोबाट सबै रन्किएका छन् । विश्वकप खेल्ने मात्र होइन, विश्वकपमा उपस्थित नभएका देश पनि बिनाभेदभाव आआफ्नो टिमको समर्थन गर्नमा व्यस्त हुने छन् । नेपाल यसबाट अछुतो हुने कुरै भएन । नेपाल पनि अहिले विश्वकपमय भइसकेको छ ।

विश्वभरका फुटबल समर्थक अहिले नै आफूलाई मनपर्ने फुटबल टिमको टिसर्ट लगाएर अथवा खेलाडीहरूको शैली ‘कपी’ गरेर विश्वकपको यस पर्वमा मस्त भइसकेका छन् । नेपालका ठुलासाना सहरका पसलमा आआफ्ना मनपर्ने टिमको जर्सी खरिद गर्ने बढेका छन् । होटल र रेस्टुरेन्टहरू पनि यस अवसरमा विशेष योजना बनाइरहेका छन् ।

लोकप्रियताका हिसाबले विश्वकप फुटबल सबभन्दा ठुलो खेल आयोजना हो । प्रत्येक चार वर्षमा आयोजना हुने विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदै छ । यस पटक विश्वको कुल जनसङ्ख्यामध्ये ५८ प्रतिशतले विश्वकप हेर्ने अनुमान गरिएको छ । त्यसैले विश्वको नजर एक महिनाभन्दा बढी समय अमेरिका, क्यानडा र मेक्सिकोका १८ भव्य रङ्गशालामा रहने छ । विश्वकप फुटबल तीन देशमा आयोजना हुन लागेको यो पहिलो पटक हो । यसअघि दुई देशले मात्र संयुक्त रूपमा विश्वकपको आयोजना गरेको इतिहास छ । विश्वकप २०२२ को आयोजना दक्षिण कोरिया र जापानले संयुक्त रूपमा गरेका थिए । विश्वकपको अर्को संस्करण पनि तीन देशमा संयुक्त रूपमा हुने पक्का भइसकेको छ । त्यसैले सन् २०३० का आयोजकहरू पोर्चुगल, स्पेन र मोरेक्कोले सूक्ष्म रूपमा यस विश्वकपको अवलोकन गर्ने छन् ।

जुन ११ मा मेक्सिकोको प्रसिद्ध ‘एस्टाडियो एज्टेका’ रङ्गशालामा घरेलु टिम र दक्षिण अफ्रिकाबिचको उद्घाटन खेल हुने छ । ३९ दिनको प्रतिस्पर्धापछि जुलाई १९ मा अमेरिकाको न्यु जर्सीको मेटलाइफ स्टेडियममा फाइनल हुने छ । त्यस रात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टिनोले विजेता देशलाई ट्रफी प्रदान गर्नुहुने छ ।

फिफाले यसपालि विश्वकपमा ४८ टिमलाई सहभागी गराएको छ, जुन विगतमा भन्दा १६ राष्ट्र बढी हुन् । चार राष्ट्र केप भेर्डे, कुराकाओ, उज्बेकिस्तान र जोर्डन त नवप्रवेशी मात्र छन् । यसले प्रतियोगिताको समय मात्र होइन, यस पटक विश्वकप इतिहासमै सबैभन्दा बढी खेल पनि खेलिने भएको छ । विश्वकपमा कुल १०४ खेल हुन्छन् । अमेरिकामा सबैभन्दा बढी ७६ खेल खेलिने छ । जसमध्ये क्वाटरफाइनल, सेमिफाइनल र फाइनल पनि छन् । यसै गरी अमेरिकाका ११ सहर न्युयोर्क, बोस्टन, मियामी, फिलाडेल्फिया, एट्लान्टा, डालास, हस्टन, कानास, लस एन्जल्स, सान फ्रान्सिस्को र सियाटलका रङ्गशालामा विश्वकपको प्रतिस्पर्धा हुने छ । यसै गरी मेक्सिकोका तीन सहर मेक्सिको सिटी, मोन्टरेरी र गुवाडालाजारामा कुल १३ खेल खेलिने छ । क्यानडाको भागमा पनि १३ खेल परेका छन् । ती खेल टोरन्टो र भानकुभर सहरमा हुने छन् । मेक्सिको र अमेरिकासँग विश्वकप फुटबल आयोजनाको अनुभव छ । मेक्सिकोले सन् १९७० र १९८६ तथा अमेरिकाले सन् १९९४ मा विश्वको सबभन्दा ठुलो फुटबल प्रतियोगिताको आयोजना गरेको हो । क्यानडाले भने पहिलो पटक विश्वकप आयोजना गर्दै छ ।

हुन त विश्वकप फुटबल जस्तो प्रतियोगितामा उपाधि विजेताको ठोकुवा गर्न सकिँदैन । तर विश्वकप मञ्चमा हुने श्रेष्ठताको लडाइँमा यसपालि स्पेन र फ्रान्सलाई प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ । त्यसपछि गत विजेता अर्जेन्टिना, बेलायतलाई पनि विश्वकप जित्ने टिमका रूपमा आँकिएको छ । जर्मनी, पोर्चुगल, ब्राजिल, नेदरल्यान्ड्सलाई पनि दाबेदारीको सूचीबाट झिक्न मिल्दैन ।

प्रसिद्धि कमाउने र आफूलाई महान् बनाउने ठुलो मञ्चमा नेमार, किलियन एमबापे, लामिने यमाल, ओसमान डेम्बेले, इर्लिङ हालान्ड, मोहम्मद सलाह जस्ता स्टार खेलाडी चम्किने अपेक्षा गरिएको छ । तर यसपालि पनि चर्चा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोकै हुने पक्का छ । यस विश्वकपमा आधुनिक फुटबलका दुई महान् खेलाडी अर्जेन्टिनाका मेसी र पोर्चुगलका रोनाल्डोबिच पुनः उत्कृष्टताको लडाइँ हुने छ । यी दुवै अन्तिम पटक विश्वकप खेलिरहेको हुनाले भावनात्मक क्षण पनि पक्कै आउने छ । यी दुवै छैटौँ पटक विश्वकप खेल्ने तयारीमा छन् । तर ढल्किँदो उमेरमा यी दुईका लागि यो विश्वकप अग्निपरीक्षा नै हुने छ ।

यसै गरी प्रत्येक संस्करणमा जस्तै चोटले अथवा आफ्नो टिम छनोट नहुँदा विश्वका केही उत्कृष्ट खेलाडी पनि यस पटक अभाग्यशाली साबित भएका छन् । विभिन्न कारणले अभाग्यशाली हुँदा फ्रान्सका ह्युगो इकिटिके, ब्राजिलका स्टार खेलाडीद्वय रोड्रिगो र इडर मिलिटाओ, जर्मनी तथा बायर्न म्युनिखका फरवार्ड सर्जी गाब्री, इङ्ग्ल्यान्डका कोल पाल्मर, फिल फोडेन, अर्जेन्टिनाका पाउलो डिबाला, पोल्यान्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्की, जर्जियाका कभारा केभित्सखलिया र हङ्गेरीका डोमिनिक सोबोस्लाई जस्ता खेलाडी दर्शकमा सीमित भएका छन् ।

विश्वकप सुरु हुनुअघि कूटनीतिक चिसोपना, यात्रा प्रतिबन्ध, कठोर आप्रवासन नीति, युद्धको भय जस्ता चुनौती पनि छन् । यस पटकको विश्वकपका टिकट अहिलेसम्मकै सबैभन्दा महँगा छन् । त्यसमाथि इरानसँगको युद्ध यस विश्वकपको सबैभन्दा जटिल पाटो हो । यसबाहेक अत्यधिक गर्मी पनि चुनौती हुने छ । यस विश्वपकमा कुल पुरस्कार राशि ६५५ मिलियन डलर रहेको छ । यो कतार विश्वकपको तुलनामा ४९ प्रतिशतले बढी हो । यस वर्ष च्याम्पियनले ५० मिलियन डलर प्राप्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group