काठमाडौं/भरतपुर । पुराना दलहरूको विकल्प बनेर “नयाँ राजनीतिक संस्कार” को नारा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनमै गम्भीर संगठनात्मक विवाद र व्यवस्थापकीय कमजोरीका कारण आलोचनाको केन्द्रमा परेको छ।

चितवनको भरतपुरस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा जारी महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदान प्रक्रियामाथि उम्मेदवार, सांसद, महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरूले खुलेर असन्तुष्टि जनाएका छन्। पार्टीभित्र लोकतन्त्र, पारदर्शिता र सुशासनको वकालत गर्दै आएको रास्वपामै उम्मेदवारहरूको नामावली व्यवस्थापनदेखि मतदान प्रणालीसम्म प्रश्न उठेपछि “नयाँ राजनीति” को दाबी नै परीक्षणको घेरामा परेको छ।
महाधिवेशन स्थलभित्र मतदान चलिरहँदा बाहिर भने उम्मेदवार र प्रतिनिधिहरूले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत निर्वाचन प्रक्रियाको आलोचना गरिरहेका छन्। कतिपयले यसलाई “भद्रगोल”, “बेथिति” र “लोकतान्त्रिक अभ्यासमाथिको विडम्बना” सम्मको संज्ञा दिएका छन्।
उम्मेदवार सूचीमै विवाद
विवादको मुख्य केन्द्र उम्मेदवारहरूको नामावली र मतदान मेसिनमा देखाइएको क्रम बनेको छ।
प्रतिनिधिसभा सदस्य तथा केन्द्रीय सदस्य पदका उम्मेदवार गणेश कार्कीले प्रारम्भिक नामावली र अन्तिम मतदान सूचीबीच ठूलो अन्तर देखिएको भन्दै आपत्ति जनाएका छन्।
उनले आफूभन्दा पछि उम्मेदवारी दर्ता गरेका व्यक्तिहरूको नाम मतदान मेसिनमा अगाडि आएको प्रश्न उठाउँदै नाम क्रम निर्धारणको आधार सार्वजनिक गर्न माग गरेका छन्।
कार्कीको प्रश्न छ, “मेरोभन्दा पछि फारम बुझाएकाहरू माथि कसरी पुगे ? कुन मापदण्डका आधारमा नामहरूको क्रम मिलाइयो ?”
यस्तै, अर्का सांसद तथा उम्मेदवार यज्ञमणि न्यौपानेले पनि उम्मेदवारहरूको सूची “बबण्डर शैलीमा” तयार गरिएको आरोप लगाएका छन्। उनका अनुसार नामहरू न उम्मेदवारी दर्ताको क्रमअनुसार छन्, न नेपाली वर्णमालाअनुसार, न अंग्रेजी वर्णानुक्रमअनुसार।
आफ्नै नाम भेट्टाउनै पाँच मिनेट
सांसद आशिका तामाङले उम्मेदवारी दर्ताका क्रममा आफ्नो नाम ३७ नम्बरमा रहेको तर मतदान मेसिनमा १०६ नम्बरमा पुगेको भन्दै आश्चर्य व्यक्त गरेकी छन्।
उनले मतदान प्रक्रिया सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूले चाहेको उम्मेदवारलाई मतदान गर्न समेत कठिन भएको बताइन्।
“आफ्नै नाम खोज्न पाँच मिनेट लाग्यो। आफूले रोजेको उम्मेदवारलाई भोट हाल्न सहज हुने प्रणाली हुनुपर्थ्यो, तर यहाँ त नाम नै भेट्टाउन गाह्रो भयो,” उनले भनिन्।
उनका अनुसार प्रणालीमा मतदातालाई सबै उम्मेदवारमध्ये निश्चित संख्या पूरा गरेर मात्रै अर्को चरणमा जान दिने व्यवस्था गरिएको थियो।
“मन लागोस् वा नलागोस्, तपाईंले ६४ जनालाई भोट हाल्नै पर्ने। नहाल्दा अर्को स्टेपमा जानै पाइँदैन। यो मतदाताको स्वतन्त्रता होइन,” उनले भनिन्।
‘आफ्नै प्रतिद्वन्द्वीलाई पनि भोट हाल्नुपर्ने अवस्था’
महाधिवेशनको सबैभन्दा विवादास्पद पक्ष भनेको मतदान प्रणालीमा ‘नो भोट’ वा उम्मेदवार अस्वीकार गर्ने विकल्प नरहनु हो।
भक्तपुर–२ बाट निर्वाचित सांसद तथा उम्मेदवार राजीव खत्रीले सामाजिक सञ्जालमार्फत मतदान प्रक्रियाको आलोचना गर्दै लेखेका छन्, “संसारमा यस्तो मतदान सायदै हुन्छ, जहाँ आफ्नै प्रतिद्वन्द्वीलाई पनि अनिवार्य भोट हाल्नुपर्छ।”
रास्वपाले विगतमा “राइट टु रिकल” र “नो भोट” जस्ता लोकतान्त्रिक अवधारणाको वकालत गर्दै आएको थियो। तर आफ्नै महाधिवेशनमा मतदातालाई मन नपरेका उम्मेदवारलाई समेत मत हाल्न बाध्य पारिएको भन्दै प्रतिनिधिहरूले नेतृत्वमाथि प्रश्न उठाएका छन्।
एक प्रतिनिधिले भने, “मतदाता चाहेको उम्मेदवारलाई भोट दिने मात्र होइन, मन नपरेकोलाई भोट नदिने अधिकार पनि लोकतन्त्रको आधारभूत तत्व हो।”
सांसद रेग्मीको कडा टिप्पणी
सांसद धनञ्जय रेग्मीले त झन् नेतृत्वमाथि सीधा आक्रमण गर्दै महाधिवेशन व्यवस्थापनले पार्टीको अन्तर्राष्ट्रिय छवि नै बिगारेको आरोप लगाए।
“म गर्वका साथ यो पार्टीलाई नयाँ राजनीतिक शक्तिको रूपमा प्रस्तुत गरिरहेको थिएँ। तर आज जसरी महाधिवेशन सञ्चालन भइरहेको छ, त्यसले अन्तर्राष्ट्रिय जगतमै रास्वपाको बेइज्जत गरेको छ,” उनले भने।
रेग्मीले यस्तै अव्यवस्था कायम रहने हो भने देश सञ्चालन गर्ने दाबी पनि कमजोर हुने चेतावनी दिए।
“यति बेथिति गरेर देश चलाउन सकिँदैन। आज पार्टीभित्र देखिएको समस्या भोलि राज्य सञ्चालनमा दोहोरियो भने के हुन्छ ?” उनले प्रश्न गरे।
प्रतिनिधिहरूको गुनासो : ‘नचिनेकालाई पनि घचाघच भोट हालियो’
महाधिवेशन प्रतिनिधिहरू पनि मतदान प्रणालीप्रति असन्तुष्ट देखिएका छन्।
अछामबाट आएका प्रतिनिधि एकेन्द्रप्रसाद देवकोटाले आफूले धेरै उम्मेदवारलाई नचिनेको भए पनि प्रणालीका कारण बाध्य भएर मतदान गर्नुपरेको बताए।
“६४ जना उम्मेदवारमध्ये सबैलाई कसरी चिन्ने ? चिनेजतिलाई भोट हालियो, बाँकीलाई घचाघच भोट हालियो,” उनले भने।
अर्का प्रतिनिधिले भने, “यो लोकतन्त्रभन्दा बढी प्राविधिक बाध्यता जस्तो भयो।”
क्लस्टर व्यवस्थापनमै ठूलो कमजोरी
पार्टी स्रोतका अनुसार समस्या केवल मतदान मेसिनमा मात्र होइन, उम्मेदवारी व्यवस्थापनमै भएको थियो।
खुला, मधेशी, थारू, महिला लगायत विभिन्न क्लस्टरका उम्मेदवारहरूलाई अन्तिम सूचीमा उचित रूपमा छुट्याउन नसक्दा सम्पूर्ण डेटा एकै ठाउँमा मिसिएको बताइएको छ।
एक नेताका अनुसार एउटै क्लस्टरका फारम तीन फरक स्थानबाट वितरण गरिएकाले एउटै नम्बर तीन–तीन पटक दोहोरिएको थियो।
“पछि सूची एकीकृत गर्दा सुरुमा नाम दर्ता गर्ने व्यक्ति धेरै पछाडि पुग्ने अवस्था बन्यो,” ती नेताले बताए।
उनका अनुसार भोटिङ मेसिन सञ्चालन गर्ने प्राविधिकहरूलाई पार्टीले उपलब्ध गराएको सूची नै त्रुटिपूर्ण थियो।
‘नयाँ राजनीति’ को दाबीमाथि प्रश्न
रास्वपा स्थापना भएदेखि नै पुराना दलहरूको अव्यवस्था, गुटबन्दी र गैरलोकतान्त्रिक अभ्यासको आलोचक रहँदै आएको थियो।
तर आफ्नै पहिलो महाधिवेशनमा देखिएको व्यवस्थापकीय कमजोरी, उम्मेदवार सूची विवाद, मतदान प्रक्रियाको अपारदर्शिता र प्रतिनिधिहरूको असन्तुष्टिले पार्टीको संगठनात्मक क्षमतामाथि गम्भीर प्रश्न खडा गरेको छ।
विश्लेषकहरूका अनुसार रास्वपाले पहिलो पटक ठूलो आकारको आन्तरिक लोकतान्त्रिक अभ्यास गरिरहेको भए पनि त्यसका लागि आवश्यक तयारी, प्राविधिक परीक्षण र व्यवस्थापनमा देखिएको कमजोरीले पार्टीको “नयाँ राजनीतिक संस्कार” सम्बन्धी दाबीलाई चुनौती दिएको छ।
महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने प्रक्रिया जारी रहे पनि मतदान व्यवस्थापन र संगठनात्मक क्षमताबारे उठेका प्रश्नहरूले रास्वपाको पहिलो महाधिवेशनलाई उपलब्धिभन्दा बढी विवादका कारण सम्झिने अवस्था सिर्जना गरेको देखिन्छ।
पार्टी नेतृत्वले अहिलेसम्म उठेका अधिकांश प्रश्नहरूको औपचारिक जवाफ सार्वजनिक गरेको छैन। तर उम्मेदवार, प्रतिनिधि र सांसदहरूबाटै खुलेआम आलोचना आउन थालेपछि महाधिवेशनको परिणामभन्दा पनि व्यवस्थापनको विषय आगामी दिनमा ठूलो राजनीतिक बहसको विषय बन्ने संकेत देखिएको छ।







प्रतिक्रिया दिनुहोस्