काठमाडौं, १४ असार । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्य र एकतामा ढिलाइ गर्न नहुने बताउनुभएको छ।
काठमाडौंमा जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले तत्काल पार्टी एकता नभए पनि साझा मुद्दामा सहकार्य तत्काल सुरु गर्नुपर्नेमा जोड दिनुभयो। संसद, सडक, निर्वाचन, ट्रेड युनियन, विद्यार्थी आन्दोलन तथा सीमा सुरक्षाजस्ता राष्ट्रिय सरोकारका विषयमा वामपन्थी शक्तिहरूले एउटै धारणा बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
प्रचण्डले गरिब, मजदुर, किसान र उत्पीडित समुदायविरुद्ध भइरहेको षड्यन्त्रको सामना गर्न वामपन्थी शक्तिहरूबीच सहकार्य अपरिहार्य भएको उल्लेख गर्दै सहकार्यमा हुने ढिलाइले मुलुकलाई अझ गम्भीर संकटतर्फ धकेल्न सक्ने चेतावनी दिनुभयो।
उहाँले पछिल्लो राजनीतिक घटनाक्रम प्रतिक्रियावादी दिशातर्फ उन्मुख भइरहेको दाबी गर्दै राष्ट्रिय स्वाधीनता, संविधान र लोकतान्त्रिक उपलब्धिमाथि चुनौती बढ्दै गएको टिप्पणी गर्नुभयो। सरकारले संविधानका आधारभूत मूल्य–मान्यता कमजोर पार्ने, मजदुर, किसान तथा उत्पीडित समुदायका अधिकारमाथि प्रहार गर्ने नीति लिएको आरोप पनि उहाँले लगाउनुभयो।
प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने उद्देश्यका साथ स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको दाबी गर्दै दक्षिण एसियाका अन्य देशमा जस्तै नेपालमा पनि कम्युनिस्ट आन्दोलन समाप्त पार्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो। यस्तो अवस्थामा राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र संविधानको रक्षा गर्न वामपन्थी तथा देशभक्त शक्तिहरू छिटोभन्दा छिटो एकजुट हुनुपर्ने उहाँको जोड थियो।
उहाँले आफूले तत्काल पार्टी एकताको प्रस्ताव नगरेको स्पष्ट पार्दै दलहरूबीच मुद्दाका आधारमा सहकार्य विस्तार गर्दै आपसी विश्वास र समीक्षा पश्चात् मात्रै दीर्घकालीन एकताको प्रक्रियामा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।







प्रतिक्रिया दिनुहोस्